काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेटघाट फलदायी भएको बताएका छन्। बिमस्टेक सम्मेलनका क्रममा शुक्रबार बैंककमा भएको भेटवार्तापछि मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो जानकारी दिएका हुन्।
मोदीले नेपाली भाषामै लेखिएको ट्वीटमा भनेका छन्, “बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू- विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्यौँ। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू– विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौँ।”
उनले भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिँदै दुई देशबीचको सहकार्यले क्षेत्रीय विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। बिमस्टेक सम्मेलनले विपद् व्यवस्थापन र समुद्री यातायातजस्ता क्षेत्रमा सकारात्मक नतिजा ल्याएको उल्लेख गर्दै मोदीले यी विषयमा पनि ओलीसँग छलफल भएको बताएका छन्।







