काठमाडौँ । रौतहटमा जंगली बँदेल मार्न थापेको विद्युतीय पासोमा परेर एक महिलाको ज्यान गएको छ।
वृन्दावन नगरपालिका-१ बलेरी खोरमा किसानको खेतमा आउने जंगली जनावर बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर स्थानीय ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको हो।
स्थानीय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागि नांगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुँदै आउने क्रममा फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो।
महिला मृत अवस्थामा भेटेपछि सुशील विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उत्तर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
फुलमतिया देवी आफ्नो गोठबाट घरतर्फ फर्किने क्रममा विद्युतीय धरापमा करेन्ट लागेर मृत्यु भएपछि दुवै जनाले जंगलमा गाडेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चैत्र १४ गते हराएकी महिलाको शव १९ गते गाडिएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका दुवै जनालाई प्रारम्भिक अनुसन्धानपश्चात कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।







