काठमाडौँ । चैत २० देखि सडक आन्दोलन गरिरहेका शिक्षक र सरकारबीच सहमति हुन नसक्दा ७० लाख विद्यार्थीको शैक्षिक गतिविधि ठप्प बनेको छ।
शिक्षक आन्दोलनले कक्षा ८ र एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा र भर्ना अभियान प्रभावित बनेको छ। धेरै विद्यालयको लिने वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन पनि रोकिएको छ।
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति हुन नसक्दा विद्यालयहरूले भोली (वैशाख तीन) गतेबाट सुरु हुने विद्यार्थी भर्ना कार्यक्रम स्थगित गरेका छन् ।
महांघको पूर्व घोषित कार्यक्रम अनुसार बैतडीको ज्ञानेश्वर माध्यमिक विद्यालयले पनि विद्यार्थी भर्ना कार्यक्रम स्थगित गरेको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक धन बहादुर महराले एक विज्ञप्ति जारी गर्दै विद्यालयद्वारा पूर्व घोषित २०८२ वैशाख तीन गतेदेखी सुरु हुने विद्यार्थी भर्ना अभियान स्थगित गरेको जानकारी गराएका हुन् ।
विद्यार्थी भर्नासँगै विद्यालयका अन्य शैक्षिक तथा प्रशासनिक कामकाजहरू पनि अर्को सूचना जारी नहुन्जेल सम्मका लागी स्थगित गरिएको सहाय प्रधानाध्यापक महराले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘शिक्षक महासंघद्वारा संघिय शिक्षा ऐनको माग तथा सामुदायिक विद्यालय शिक्षक कर्मचारीहरूका पेशागत विभिन्न शैक्षिक माग र मुद्वाहरु पुरा गर्नका लागी मिति २०८१/१२/२० गते देखी निरन्तर रूपमा काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन भइरहेको र मिति २०८१/१२/२५ गते देखी आम शैक्षिक हडतालको कार्यक्रम समेत रहेको हुँदा विद्यालयद्वारा पूर्व घोषित मिति २०८२/०१/०३ गते देखीको विद्यार्थी भर्ना तथा भर्ना अभियानको कार्यक्रम र विद्यालयका अन्य शैक्षिक तथा प्रशासनिक कामकाजहरू अर्को सूचना जारी नहुन्जेल सम्मका लागी स्थगित गरिएको ब्यहोरा जानकारी गरिन्छ, ’विज्ञप्तिमा लेख गरिएको छ ।
महासंघको संयोजनमा भइरहेको आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि अनिश्चित कालीन शैक्षिक हडताल नै घोषणा गरिएको छ ।
१७ महिनादेखि संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा छलफल भइरहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहमति जुटाउन लागिपरेको छ। संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिमा पनि छलफल चलिरहेको छ। तर, सहमति जुट्न सकेको छैन।
