काठमाडौँ । रुपन्देहीको रोहिणी गाउँपालिकाले अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । गाउँपालिकाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन गाउँपालिकाले निर्देशन दिएको हो ।
गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले १४ गतेदेखि शिक्षकहरूलाई अनिवार्य रूपमा उपस्थिति भई नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत कार्यसहित नियमित रूपमा पठनपाठन अगाडि बढाउन निर्देशित गरिएको बताए ।
यो निर्देशनको अवज्ञा गर्ने शिक्षक, कर्मचारीलाई क्षेत्राधिकारभित्र रही आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष यादवले बताए ।
‘नेपाल शिक्षक महासंघको नेतृत्वमा २०८१ चैत २० गतेदेखि निरन्तर शिक्षक कर्मचारी आन्दोलन रहेको छ । लामो समयको आन्दोलनले गर्दा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक भविष्यमा प्रत्यक्ष प्रतिकूल प्रभाव परिरहेको अवस्था छ, ’उनले भने ।
