सुनसरी । गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकै खेती र आँप खेतीमा ठूलो क्षति गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकै खेती र आँप खेतीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।
जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकै खेती गरिँदै आइएको छ । भित्र्याउने बेलामा हावाहुरीसँगै वर्षाले मकै खेतीमा क्षति पुर्याएको उनले जानकारी दिए। मकै भित्र्याउने बेलामा हावाहुरी र वर्षाले बिरुवा खेतमै रहेको, मकैमा लागेको फूल झरेको, फलसमेत खसेका कारणले ठूलो नोक्सानी भएको छ । त्यसै गरी, आँपमा समेत क्षति भएको उनले जानकारी दिए ।
आँपमा चिचिला लागेका बेलामा हावाहुरीसहित आएको पानी र चट्याङबाट नोक्सानी भएको उनले बताए । त्यसै गरी, लौका, काँक्रा, करेला, परवल, बोडीलगायत लहरे तरकारी बालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ ।
गए राति हावाहुरीसँगैको वर्षाका कारणले सुनसरीमा कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख सिंहले बताए ।