काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका माग सम्बोधन नगरे सिंहदरवार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले शासकहरू भाग्नुपरेको इतिहास स्मरण गराएका छन् ।
‘शिक्षकका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला,’ उनले भने, ‘शासकहरू भागेको कुरा सुन्नुभएको होला नि, पढ्नु भएको पनि होला ।’
शिक्षकका जायज मागहरू पूरा गर्न यथाशीघ्र शिक्षा ऐन नल्याए शासकहरू भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । ‘जनताको अगाडि बहुमत र दुई तिहाइको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ,’ उनले भने ।
सांसद चौधरीले सरकारले शिक्षकका जायज माग पूरा गर्नुको सट्टा दमन गरिरहेको आरोप लगाए ।
सरकारले शिक्षकहरूमाथि जंगली र दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट घोर भर्त्सना समेत गरे ।