काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सीप र क्षमता भए जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई तीन लाख कमाउन सकिने बताएका छन् ।
विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै कीर्तिपुरको डाँडाबारे आफ्नो भाइरल भएको अभिव्यक्तिलाई सम्झँदै सम्भव भएको बताए ।
उनले भने, ‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईँ सबैलाई त्यही प्रसंग याद आउँछ । एउटा डाँडामा बसेर दुई तीन लाख कमाउन सकिन्छ भनेर मैले भनेँ । कतिलाई रमाइलो कुरा भयो । तर त्यो ड्रिम हो । सम्भव छ । एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ । अब हामी नलेज इकोनोमीमा छिरेका छौँ । अहिले चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर च्याट जिपीटीसँग कम्पिटीसन गर्छु भन्ने ठाउँमा पुगेको अवस्था छ ।’
उनले विपन्न लक्षित कार्यक्रम पनि सीपसँग जोडिएको हुनुपर्ने बताए ।
उनले थपे, ‘सीप खाली खोस्रिने र कतार मलेसियामा गएर डुगोको गाह्रो लगाउने मात्रै होइन । त्यो सीप सूचना प्रविधिले ल्याएको अवसरलाई प्रयोग गर्ने सीप हामीले विपन्न परिवारको मान्छेलाई उपलब्ध गराउन सक्नुपर्छ ।’