काठमाडौँ । संसद सञ्चालनको विषयमा सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
आजको संसद बैठक सञ्चालन गर्नुअघि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टै छलफल गरेका छन् ।
पाण्डेसँगको छलफल लगत्तै घिमिरेले नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँग पनि छलफल गरेका छन् ।
यी छलफल आजको संसद बैठक सहज रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ ।
आजको संसद बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफल हुने कार्यसूची छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आजको संसद बैठक अवरुद्ध पार्ने तयारीमा प्रतिपक्षी दलहरू रहेकाले सभामुखले बैठक सञ्चालनको तयारीबारे छलफल गरेका हुन् ।







