काठमाडौँ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे-म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेताले ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले एशियाको निर्यातमा निर्भर चौथो ठूलो अर्थतन्त्रका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी पनि दिएका छन् ।
मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन-सोलाई पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचनमा लीले ४९.४ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी किमले ४१.२ प्रतिशत मत प्राप्त गरेका छन् । किमले पार्टीमा आन्तरिक कलह र तेस्रो पक्षका उम्मेदवारले दक्षिणपन्थी मत विभाजन गरेका कारण आफ्नो पाजय भएको बताएका छन् ।
निर्वाचित भए लगत्तै लीले दक्षिण कोरियाका शीर्ष सैन्य कमाण्डरसँग कुरा गरी बुधबार औपचारिक रूपमा देशको सशस्त्र बलको सञ्चालन नेतृत्व ग्रहण गरेका छन् । उनले प्योङयाङको उक्साहटविरुद्ध ‘तत्परता’ कायम राख्न पनि शीर्ष सैन्य कमाण्डरलाई आग्रह गरेका छन् ।
उनले भने, “हामी विभाजन र युद्धको घाउ निको पार्नेछौँ र शान्ति र समृद्धिको भविष्य स्थापित गर्नेछौँ । जतिसुकै मूल्यमा पनि युद्धभन्दा शान्ति राम्रो हो।”
उनले उत्तर कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सञ्चार माध्यम खोल्ने र वार्ता र सहकार्यलाई अगाडि बढाउने क्रममा उत्तर कोरियाको आणविक र सैन्य उक्साहटलाई रोक्ने बताएका छन् ।
अमेरिकाले दक्षिण कोरियाको महत्त्वपूर्ण स्टील र आल्मुनियम निर्यातमा ५० प्रतिशत कर लगाउने तयारी गरिरहेका समय करको घोषणा गर्नुभन्दा केही घण्टाअघि लीले पदभार ग्रहण गरेका छन् ।
“बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचनाजस्ता विश्व व्यवस्थामा भएका तीव्र परिवर्तनले हाम्रो अस्तित्वमाथि नै खतरा उत्पन्न गरेको छ,” लीले भने।
दक्षिण कोरियाको स्टक बजार र मुद्राले चुनावको नतिजाप्रति सकारात्मक प्रतिक्रिया देखाएको छ । बुधबार मुख्य स्टक बजार कोस्पी र कोरियाली मुद्राको मूल्यमा उच्च वृद्धि देखिएको छ ।
महत्त्वपूर्ण प्रस्थान
कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले उत्तर कोरियाबारे लीको टिप्पणी उनका पूर्ववर्ती युनको टिप्पणीभन्दा ‘महत्त्वपूर्ण प्रस्थान’ भएको बताएका छन् ।
होङले एएफपीसँग भने, “यसले ‘वार्ताको माध्यमबाट असहमति समाधान गर्ने उनको इच्छा’ लाई संकेत गर्छ।”
“प्योङयाङले कस्तो प्रतिक्रिया जनाउँछ त्यो हेर्न बाँकी नै छ, तर लीले उत्तर कोरियाप्रति फरक दृष्टिकोण देखाएको छ,” उनले भने ।
युनले नागरिक शासनलाई निलम्बन गर्ने प्रयास गरेको रात सशस्त्र सेना तैनाथ गरेका स्थान नेसनल एसेम्ब्ली (प्रतिनिधि सभा) मा लीले एक सामान्य उद्घाटन समारोह आयोजना गरेका छन् ।
नियमित रूपमा निर्धारित निर्वाचनपछि आयोजना हुने ठूला सभा वा कार्यक्रमहरूको विपरीत बुधवारको उद्घाटन समारोहमा अतिथिहरूको पातलो उपस्थित भएको थियो ।
राष्ट्रपति पद तथा गोपनीयताको शपथपछि उनले कार्यालय राष्ट्रपतिको चिफ अफ स्टाफ, प्रधानमन्त्री र नेसनल इन्टेलिजेन्स सर्भिसको निर्देशकको रूपमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा केन्द्रित रहेर निकटस्थहरूसँग छलफल गर्नेछन् ।
यस दिनको अन्त्यमा विश्वका नेताहरूबाट बधाई फोन कलहरूको हुलहुज्जत हुने अपेक्षा गरिएको छ, जसमा ट्रम्प लाइनमा पहिलो हुने सम्भावना छ । उनको निर्वाचनप्रति खुसी व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी विदेश मन्त्री मार्को रूबियाले बधाई ज्ञापन गरेका छन् ।
ट्रम्पका उच्च कूटनीतिज्ञ मार्को रुबियोले ’साझा मूल्य मान्यता र गहिरो आर्थिक सम्बन्ध’लाई उद्धृत गर्दै एक वक्तव्यमा सियोलसँग वासिङ्टनको गठबन्धन ‘मजबूत’ रहेको बताएका छन् ।
लीको दलले पहिले नै संसदीय बहुमत प्राप्त गरिसकेको छ यसको अर्थ उनी आफ्नो विधायिकी एजेन्डा पूरा गर्न आगामी तीन वर्षका लागि सुरक्षित र सक्षम हुनेछन्।







