काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय समता दिवस तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा नेपाली काँग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीति दलको भूमिका’ विषयक अन्तर संवाद गरेको थियो ।
सो अन्तरसंवादको समापन समारोहमा उनले असमानताको अन्त्य गरेर मात्र लक्ष्यमा पुग्न सकिने बताए । उनले लोकतन्त्र र बहिष्करणसँगसँगै जान नसक्ने उल्लेख गरे ।
“अबको १० वर्षसम्मको अभियान के हुनसक्छ भनेर योजनाबद्ध रूपमा लाग्नुपर्छ, आजको छलफल विचार उत्तेजक र ज्ञानवर्धक पनि भएको छ,” महामन्त्री थापाले भने, “स्वर्गीय प्रदीप गिरीले भने अनुसार राजनीतिज्ञहरू बौद्धिक रूपमा ठिक ठाउँमा हुँदाहुँदै कतिपय अवस्थामा भावनात्मक रूपमा ठिक ठाउँमा नहुन पनि सक्छन्, यसमा हामीले ध्यान दिनुपर्नेछ ।”
पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सत्तामा पुग्न नेतृत्वले गरेको व्यवहार र सोचका कारण विभेदको अन्त्य नभएको बताए । बहसमा मात्रै केन्द्रित नभएर समस्यालाई समाधानमा लाग्नुपर्ने उनको भनाइ छ ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसले सुरु गरेको असमानता, छुवाछूत र विभेदविरुद्धको अभियानलाई तीव्रता दिनुपर्ने बताए ।
“नेपालमा मात्रै विभेद छ भन्ने भाष्य पनि सही छैन, देशको आधा जनसङ्ख्या महिला हुँदा पनि स्वीजरल्याण्डमा त लामो समयसम्म मताधिकार नै दिइएको थिएन, पछि मात्रै भएको हो । यो सबै कुरा शिक्षा र चेतनाले फरक पार्दो रहेछ, हामीले यसलाई तत्कालै ध्यान दिनुपर्छ, नियम र कानुनले मात्रै हुँदैन” उनले भन्नुभयो ।
नागरिकको घरघरमा पुग्ने संस्था भनेको राजनीतिक दलहरू नै भएकाले छुवाछूतविरुद्ध बाँकी रहेको अवशेष हटाउन क्रियाशील हुनुपर्नेमा उनले जोड दिए ।







