काठमाडौँ । अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका ठुलो संख्या नेपालीलाई निष्कासन (डिपोर्ट) गरेको छ।
अमेरिकी चार्टर्ड विमानमार्फत फिर्ता पठाइएका उनीहरू (आइतवार) अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छन्। यो अमेरिकाबाट एक पटकमा डिपोर्ट गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली समूह हो।
विमानमा डिपोर्ट गरिएका कति नेपाली छन् भन्ने यकिन जानकारी भने प्राप्त भएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिए लगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो ।







