१.भूमिका:
उत्सवभन्दा परको अनुभूति : जन्मदिनलाई हामी प्रायः फूल, मिठाई र शुभकामनामा सीमित गरेर हेर्छौँ। आफन्त, साथीभाइ र सहकर्मीबाट आउने शुभकामनाले त्यो दिनलाई विशेष अवश्य बनाउँछ। तर आज म त्यो सामान्य प्रवृत्तिभन्दा बाहिर सोच्न चाहन्छु। उमेर थपिने दिन केवल उत्सव होइन, आत्म मूल्याङ्कन र प्रतिबद्धता नवीकरण गर्ने अवसर पनि हो। म आफैसँग प्रश्न गर्न चाहन्छु . मैले विगतका वर्षहरू कसरी बिताएँ ? के मेरो योगदान मेरो उमेरको मूल्य जति छ ? जीवन एक दिनको या एक वर्षको मात्रै मूल्याङ्कन होइन . तर प्रत्येक जन्मदिनमा हामीले एक पटक गहिरो नजरले विगत हेर्न जरुरी हुन्छ। त्यसैबाट भविष्यको बाटो कोर्न सकिन्छ।
२. आत्म मूल्याङ्कन:
समयसँगै बढेको जिम्मेवारी: उमेर बढ्दै जाँदा शरीरमा थकान आउन सक्छ, तर सोचमा स्पष्टता, दृष्टिमा गहिराइ र संवेदनशीलतामा परिपक्वता आउन आवश्यक छ। जीवनका अनेकन मोड पार गर्दै गर्दा म अब त्यस्तो चरणमा छु जहाँ “किन बाँचेको छु ?” भन्ने प्रश्नले निरन्तर घचघच्याइरहन्छ । यो प्रश्न सहर्ष लिइएको हैन, यो उत्तर खोज्न बाध्य बनाउने गम्भीर प्रश्न हो। मैले मानव अधिकार, सुशासन र सामाजिक सचेतनाका विषयमा लामो समयदेखि कलम चलाउँदै, बहस गर्दै र क्रियाशील रहँदै आएको छु। तर यो लेखन, वकालत र बहसले वास्तवमा समाजमा परिवर्तन ल्यायो त ? के मैले भन्न खोजेको कुरा आम नागरिकसम्म पुग्यो? के म आफैँले गरेका कुरामा इमानदार रहन सकेँ? यी प्रश्नहरू सजिला छैनन्। यिनीहरूको जवाफ सटीक छैन। तर आत्म मूल्याङ्कन भनेको सजिलो प्रश्नको सजिलो उत्तर होइन, त्यो त भित्री चेतनाको ऐना हेर्ने कार्य हो।
३. उत्तरदायित्व:
उत्तरदायित्व हैसियतले होइन, चेतनाले नापिने कुरा : एक व्यक्तिले आफ्नो हैसियत, पद वा पहुँचबाट होइन, उसको चेतनाको स्पष्टता र उत्तरदायित्वप्रति निष्ठाबाट मूल्याङ्कन हुनुपर्छ । म आफूलाई के–के पदमा पुगेँ भनेर हेर्न चाहन्न। म त्यो मान्छे बन्न चाहन्छु जसले पद नभए पनि जन–मनको सम्मान कमाएको होस्। म बुझ्दै छु “ जीवन केवल आफ्नो लागि होइन, अरूको लागि केही गर्ने क्षमता आर्जन गर्ने प्रक्रिया हो ” मानव अधिकार र सामाजिक न्याय, सामाजिक परिवर्तनका कुरा गर्ने बेलामा, त्यो कुरा केवल सिद्धान्तमा सीमित हुने हो भने त्यसले अर्थ राख्दैन। त्यसका लागि व्यवहारमै देखिने उदाहरण बन्नु पर्छ। मैले लेखेको, बोलेको र सोचेको कुरा मैले बाँच्न सकेँ त? मैले अरूलाई आग्रह गर्ने मूल्यहरू आफूमा अवलम्बन गरेँ त? म भन्छु, जन्मदिन केवल जीवनको अवधि गन्ने दिन होइन, त्यो त “उत्तरदायित्वको पुनर्पुष्टि” गर्ने दिन हो । व्यक्तिको विचार, कर्म र प्रतिबद्धता यी नै हुन् उसको साँच्चिकै पहिचान?
४. निष्कर्ष :
नयाँ प्रतिबद्धताको सङ्कल्प जीवन सधैँ चुलो, चौका र चौतारीमा मात्र सीमित छैन ! त्यसको प्रभाव सामाजिक संरचना र सिष्टमसम्म पुग्नुपर्छ । हाम्रो एउटा सानो सोच, एउटा लेख, एउटा क्रियाले अरूको जीवनमा आशा र उज्यालो ल्याउन सक्छ । त्यसैले म आज यो जन्मदिनमा नयाँ प्रतिबद्धता गर्न चाहन्छु । अरूलाई दोष देखाउनेभन्दा अघि, आफूलाई सुधार्ने प्रयत्न गर्नेछु । सोध्नेछु, लेख्नेछु, तर सबैभन्दा पहिला बुझ्नेछु । नयाँ पुस्तालाई मूल्य बोध, अनुशासन र चेतनाको शिक्षा दिने प्रयास गर्नेछु । सच्याउने कुरा अरूबाट होइन, आफैबाट सुरु गर्नेछु।
आज मलाई लाग्छ, “उमेरको सम्झना” केवल व्यक्तिगत घटना होइन। त्यो त समाजका लागि अझ जिम्मेवार र परिपक्व व्यक्ति बन्ने सङ्कल्प लिने अवसर हो । अनि “उत्तरदायित्वको आत्म मूल्याङ्कन” कुनै विशेष दिनको काम होइन, त्यो त प्रत्येक दिन अभ्यास गर्ने जीवन पद्धति हो।
जन्मदिन एक संयोग हो, तर त्यस दिन गरिने प्रतिबद्धता, कर्म र सोच हाम्रो जीवनको नयाँ दिशा बन्न सक्छ। आज म फेरि आफूलाई सम्झाउँदै छु, “जसरी समयले मसँग हिसाब मागिरहेको छ, म पनि आफ्नै सोच र कर्मसँग गहिरो हिसाब माग्नेछु” ।







