काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक संघले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यार्थीको पठनपाठन तत्काल सुचारु गर्न र उनीहरूलाई आवश्यक भावनात्मक तथा भौतिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
मंगलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष श्याम शर्मा भुसालले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बाढीका कारण विद्यालयका भौतिक संरचनाहरू पूर्ण रूपमा पुनर्निर्माण गर्न तत्काल सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरेर भए पनि पठनपाठन अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
बाढीमा अभिभावक गुमाएका विद्यार्थीको मानसिक अवस्था अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै भुसालले उनीहरूलाई आर्थिक सहयोगभन्दा पनि भावनात्मक प्रेम र अभिभावकत्वको बढी खाँचो रहेको बताए । उनका अनुसार सडकमा टोलाइरहेका र सहाराविहीन देखिएका बालबालिकाहरूलाई राज्य र सामाजिक संघ-संस्थाहरूले विशेष संरक्षण दिनु आवश्यक छ ।
प्रभावितहरूको आवास व्यवस्थापनका सम्बन्धमा बोल्दै उनले हाल सामूहिक सेल्टरहरूमा बसिरहेका परिवारहरूलाई व्यक्तिगत पाल वा त्रिपालको व्यवस्था गरी व्यवस्थित अस्थायी बसोबास मिलाउनुपर्ने माग गरे । साथै, विपद्पछि फैलिन सक्ने सम्भावित रोगव्याधिलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्य सचेतना र स्वास्थ्य सामग्रीको पूर्वतयारी चुस्त राख्न समेत उनले आग्रह गरे ।
उनले भने, ‘बाढीका कारण भौतिक संरचना पूर्ण रूपमा तयार गर्न समय लाग्ने देखिन्छ । त्यसैले विभिन्न संघ-संस्थाको समन्वयमा पाल वा त्रिपालको व्यवस्था गरी तत्काल पठनपाठन सुरु गर्नुपर्छ । वितरण र पहिचान प्रणालीमा केही त्रुटिहरू देखिएका छन्, जसले गर्दा वास्तविक पीडित मारमा परेका छन् । यसको उचित व्यवस्थापनका लागि राज्य संयन्त्र र सरोकारवाला पक्षहरू जिम्मेवार बन्नुपर्छ ।’
राहत वितरण प्रणालीमा देखिएको कमजोरीप्रति चासो व्यक्त गर्दै भुसालले राज्यको कोषमा स्रोत साधन जुटे पनि लक्षित पीडितहरूले प्रभावकारी रूपमा राहत नपाएको जनगुनासो रहेको उल्लेख गरे ।
संकटको घडीमा सबै नागरिकले राज्यको दायित्वबोध गर्दै सहयोगको वातावरण निर्माण गर्नुपर्ने र गलत सूचना प्रवाह नगरी सही जानकारीका आधारमा राहत र पुन:स्थापनाको कार्यलाई अघि बढाउनुपर्नेमा संघले जोड दिएको छ ।






