काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेट व्यवहारिक र लागू गर्न सकिने भएको सांसदहरुले सदनमा धारणा राखेका छन् ।
प्रतिनिधि सभा बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनीहरूले बजेटबारे सकारात्मक प्रतिक्रिया दिएका हुन् ।
सांसद उदयशम्शेर जबराले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट व्यावहारिक र लागू गर्न सकिने रहेको बताए । निराश रहेका निजी क्षेत्रलाई उत्साह दिने गरी बजेट आएको उनको भनाइ थियो । स्टार्ट अपका लागि पाँच वर्षका लागि कर छुटले नयाँ उद्यमीलाई उत्साह दिने सांसद राणाले बताए ।
“बजेटमा निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिनु स्वागतयोग्य कुरा हो, ’उनले भने । विक्रम संवत् २०८१ असोजमा गएको बाढीबाट ठूलो धनजनको क्षति भए पनि रु एक खर्ब १९ अर्ब पून:निर्माणका लागि छुट्याइएको उल्लेख गर्दै उनले उक्त बजेट अपुग रहेको बताए ।
सांसद भगवती चौधरीले बजेटको सन्तुलित, यथार्थपरक र स्रोत सुनिश्चितता तथा सम्भावना र प्रभावकारितालाई केलाउँदै अर्थपूर्ण प्रतिफल आउन सक्ने बताइन् ।
“बजेट कार्यान्वयनमा आउने चुनौती धेरै छन् । बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न सकारात्मक पहल गर्नुपर्छ,” उनले भनिन् । बजेटले नयाँ पुस्तालाई स्वदेशमा नै अवसर प्रदान गर्ने गरी योजना बनाएको भन्दै सांसद चौधरीले सूचना प्रविधिमा युवा पुस्तालाई आकर्षण गर्ने योजना प्रंशनीय रहेको बताइन् ।
सांसद नगिना यादवले मुलुकको आर्थिक समस्या समाधान गर्ने गरी बजेट आए पनि कार्यान्वयनमा भने चुनौती रहेको बताइन् । “बहुमतले बलियो बजेट ल्याउन त सक्थ्यो, आर्थिक समस्याबाट मुलुकलाई मुक्त गर्न सकिन्थ्यो । तर, छिटो आर्थिक लाभ दिने किसिमको बजेट आउन सकेको छैन,” उनले भनिन्, “संघीय कानुन बनाएर कर प्रणालीलाई सहज बनाउनुपर्छ ।” मधेश प्रदेशलाई उपेक्षा गरी बजेट विनियोजन भएको उनको आरोप थियो ।







