काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८२ माथिको छलफलका क्रममा सांसद प्रभु साहले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागमाथि गम्भीर आरोप लगाएका छन्। उनले यी विभागहरू अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूलाई तर्साउने, धम्काउने र असुली गर्ने कार्यमा संलग्न रहेको दाबी गरे।
साहले सरकारका यी निकायहरूले आफ्नो जिम्मेवारीअनुसार भ्रष्टाचार नियन्त्रण गर्नेभन्दा पनि उल्टै अनुचित लाभ लिने कार्यमा लागेको बताए। “प्रधानमन्त्री भन्नुहुन्छ, म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ, तर उहाँकै मातहतमा रहेका यी विभागहरूले अवैध सम्पत्ति आर्जन गर्नेहरूलाई तर्साएर र धम्काएर असुली गर्ने काम गरिरहेका छन्,” उनले भने।
उनले राज्यका हरेक निकायमा बेथिति र भ्रष्टाचार बढ्दै गएको उल्लेख गर्दै सरकारको भ्रष्टाचार विरोधी नीतिमा गम्भीर प्रश्न उठाए। साहको यो आरोपले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागको कार्यशैलीमाथि संसद्मा तीव्र बहस सिर्जना गरेको छ।







