काठमाडौँ । ‘मनमोहन स्मृति प्रतिष्ठान’ले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का पूर्वअध्यक्ष मनमोहन अधिकारीका १०५ औँ जन्मजयन्तीका अवसरमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर आयोजना गरेको छ ।
बिहीबार भएको शिविरको उद्घाटन प्रतिष्ठानका अध्यक्ष एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए ।
उद्घाटन गर्दै पोखरेलले भने, ‘मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो भन्ने मूल मन्त्र बोकेका नेता मनमोहन अधिकारीको सम्झनामा आयोजित यस शिविरले उहाँको समाजवादी दृष्टिकोणको जीवन्त अभ्यास गरेको छ ।’
उनले सबै सहभागी चिकित्सक टोली, स्वयंसेवक तथा सेवाग्राहीप्रति आभार प्रकट गर्दै यस्तो कार्यक्रम नियमित रूपमा हुनुपर्ने आवश्यकता पनि औँल्याए ।
ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी गरिएको यो शिविरले ललितपुर महानगरपालिका क्षेत्रका करिब २०० जनालाई सेवा दिएको मनमोहन स्मृति प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत आशिष रेग्मीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा वीर अस्पतालका पूर्व निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेल, जेरियाट्रिक विशेषज्ञ डा। उमेश बोगटी, आन्तरिक रोग विशेषज्ञ डा. अनन्त अर्याल लगायत वरिष्ठ चिकित्सकहरूको टोलीले सेवा दिएका थिए ।
शिविरमा रक्तचाप (प्रेसर) मापन, रक्तमा ग्लुकोज (सुगर) जाँच, हृदय परीक्षण, सामान्य स्वास्थ्य परामर्श, वृद्ध वृद्धाहरूका लागि विशेष जेरियाट्रिक सेवासहित नि:शुल्क औषधी वितरण गरिएको थियो ।







