काठमाडौँ । असार १५ मा शिक्षा ऐन जारी नगरेपछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले देशव्यापी शैक्षिक हड्तालका कार्यक्रम घोषणा गरेको छ ।
उक्त संगठनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यापारीको प्रभावमा परी शिक्षा ऐन रोकिएको आरोप समेत लगाउँदै देशव्यापी शैक्षिक हड्तालका कार्यक्रम घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष वीरेन्द्र शाहले सत्तासिन एमाले-काँग्रेसले आफ्ना मान्छेको चाहना अनुसार नै शिक्षा ऐन अड्काएर राखेकोले आफूहरुले हड्ताल घोषणा गर्नुपरेको बताए । संघीयता आएको लामो समय वितिसक्दासम्म पनि पुरानै ढाँचामा शैक्षिक क्षेत्र चल्नुमा व्यापारिक मनसाय रहेको उनले बताए ।
संगठनका महासचिव उषाकिरण आजादले आउन लागेको शिक्षा ऐन संविधानको मर्म र भावना विपरीत निजी र व्यापारीकरण गर्न पाउने योजनासहित ल्याइएको आरोप लगाए ।
आजादले ऐनमा प्रस्टसँग ठूला नेता, सरकारी कर्मचारीका छोरा-छोरीले निजी विद्यालयमा पढाउन नपाउने व्यवस्था उल्लेख गरिनुपर्ने माग राखे । कार्यक्रममा संगठनका उपाध्यक्ष रुपा बुढामगर, सचिव गोविन्द विष्ट, हरि विष्ट, कोषाध्यक्ष कमला परियार लगायतका नेताको उपस्थिति रहेको थियो ।









