काठमाडौं । दक्षिण कोरियास्थित नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेले जिम्मेवारी सम्हालेयताका ६ महिनामा भए गरेका दूतावासका मुख्य गतिविधिहरू सार्वजनिक गरेकी छन् ।
मृतक नेपाली कामदारहरूको व्यवस्थापनदेखि मनोसामाजिक सेवासम्मका कार्य प्रभावकारी रूपमा अगाडि बढाइएको उनले बताइन् ।
दूतावासका अनुसार यो अवधिमा १५ जना नेपाली कामदारको मृत्यु भएको थियो, जसको शव व्यवस्थापन गरी नेपाल ल्याइएको छ । यसैबीच, अघिल्ला समयमा मृत्यु भएका १० जना कामदारको क्षतिपूर्ति परिवारलाई हस्तान्तरण गरिएको छ।
दूतावासले व्यक्तिगत पहलमा कोरियामा काम गर्न आएका ३५ जना कुक (सेफ) का श्रम सम्झौता प्रमाणित गरेको छ । त्यस्तै, मानसिक स्वास्थ्य समस्यामा परेका ४० जना नेपालीलाई परामर्श सेवा उपलब्ध गराएको र १० जनालाई नेपाल फिर्ता गराइएको उल्लेख छ ।
उद्योगजन्य दुर्घटनामा परी घाइते भएका कामदारहरूको उपचारमा समेत दूतावास सक्रिय देखिएको छ । विशेष गरी सख्त दुर्घटनामा परेका टेकराज बुढाथोकी, रवीन्द्र गुरुङ, रामचन्द्र भण्डारी लगायतलाई आर्थिक तथा समन्वयात्मक सहयोग गरिएको छ। अस्पताल बिल तिर्न नसक्ने पाँच जना बिरामीलाई प्रति व्यक्ति एक लाख कोरियन वोन बराबरको सहयोग दिइएको छ।
सामाजिक सञ्जाल र फोनमार्फत दैनिक ५० देखि १०० वटा उजुरी र जिज्ञासाहरूको समाधान गरिएको दूतावासले जनाएको छ । यसैबीच, श्रमिक सचेतना, परामर्श र कन्सुलर सेवा प्रदान गर्न ९ वटा शहरमा कार्यक्रम सम्पन्न गरिएको छ, जसबाट ८२६ जना लाभान्वित भएका छन्।
दूतावासले ९४३१ जना नेपालीलाई कन्सुलर सेवा प्रदान गरेको छ, जसमा राहदानी नवीकरण, नाता प्रमाणीकरण, सवारी अनुमतिपत्र प्रमाणीकरण, शिक्षा सम्बन्धी कागजात प्रमाणीकरण, विवाह र सम्बन्ध विच्छेद प्रमाणीकरण, भिसा सेवा आदि प्रमुख छन्।
राजदूत तुम्बाहाङ्फेले ‘सुनौँ सिकौँ’कार्यक्रममार्फत फेसबुक तथा टिकटक पेजबाट श्रमिकको शारीरिक र मानसिक स्वास्थ्यबारे सचेतना फैलाउने प्रयास भइरहेको पनि बताएकी छन्।







