काठमाडौँ । आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरु गरेको छ। भारत सरकारको सहयोगमा नेपालका २० जना खेलाडीहरू बैंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण सुरु गरेका हुन्।
प्रशिक्षणमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिल साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रुपेश सिंह, विवेक यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्दर शुभ कंशकार रहेका छन्।
पछिल्लो समय नेपाली क्रिकेटको विकासमा छिमेकी मुलुक भारतको निरन्तर सहयोग गर्दै आएको छ। जनवरी २०२४ मा भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणपछि नेपाली क्रिकेटको विकासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको हो। त्यतिबेला भारतीय विदेश मन्त्री जयशंकरले नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिहरूसँग नेपालको समग्र क्रिकेटको विकासबारे छलफल गरेका थिए। छलफलमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कप्तान रोहित पौडेलसहितका खेलाडीहरू सहभागी थिए। विदेश मन्त्री जयशंकरले त्यतिबेला नेपाली क्रिकेटको विकासमा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
सोही भेटपछि क्यान र भारतको क्रिकेट बोर्ड बीसीसीआईबीच सहकार्य हुँदै आएको छ। सोही सहकार्यअन्तर्गत गत वर्षको अप्रिलमा नेपालले भारतको बरोडा र गुजरातसँग टी-२० प्रतियोगिता खेलेको थियो। अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपको तयारीका लागि नेपालले भारतको राज्यस्तरीय टोलीसँग अभ्यास खेल खेलेको थियो।
त्यसपछि सोही वर्षको अगस्टमा बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा नेपाली टोलीले प्रशिक्षणको अवसर पाएको थियो। त्यस्तै महिला राष्ट्रिय टोलीका सदस्यलाई पनि भारतले प्रशिक्षणमा सघाएको थियो। थाइल्यान्डमा भएको आइसीसी महिला विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि गत अप्रिलमा महिला खेलाडीले दिल्लीमा प्रशिक्षण गरेका थिए।
त्यस्तै नेपालको युवा टोलीको वृत्ति विकासमा पनि भारत सरकारले सहयोग गर्दै आएको छ। आइसीसी यु-१९ विश्वकप छनोट प्रतियोगिताका लागि गत मार्चमा नेपालले दिल्लीको यु-१९ टोलीसँग अभ्यास खेल खेलेको थियो। त्यतिमात्र होइन नेपालका तीन जना युवा खेलाडीलाई भारतले भोपालमा एक महिने लामो व्यावसायिक प्रशिक्षणमा सहभागी गराएको थियो। जसमा यु-१९ टोलीका दुई जना पुरुष खेलाडी र महिलाबाट राष्ट्रिय टिममा समेत खेलिरहेकी पूजा महतो रहेका छन्।
हुन त त्यसअघि पनि भारत सरकारले नेपाली क्रिकेट क्षेत्रलाई सहयोग गर्दै आएको थियो। सन् २०१३ मा भारत सरकारले क्यानलाई बस उपहार दिएको थियो। त्यस्तै २०२३ मा काठमाडौँस्थित भारतीय राजदूतावासले वीपी कोइराला भारत-नेपाल फाउन्डेसन र भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएन लिमिटेडमार्फत नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई व्यावसायिक खेलकुद उपकरणहरू प्रदान गरेको थियो।







