काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय सभामा काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा रहेको स्मरण गरेका छन् ।
कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको ‘स्मृतिमा बिपी’ विचार गोष्ठीमा उनले कुनै पनि वैदेशिक राष्ट्रको हस्तक्षेप सहनुहुन्न भनेर राष्ट्र र राष्ट्रियताबारे कोइरालाको स्पष्ट धारणा रहेको बताए ।
“राष्ट्र र राष्ट्रियता भनेको जनता हो, जनताको अधिकारबिना राष्ट्र र राष्ट्रियता रहँदैन भन्ने उहाँको सोच थियो । लोकतान्त्रिक शासन पद्धतिमा कसैसँग सम्झौता गर्नुभएन, नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुला परेर छोडिदिनुभयो”, सिटौलाले भने।
उनले जननायक बिपी कोइरालालाई गतिशील नेताका रूपमा बुझ्नुपर्ने भन्दै फाँसीको मुद्दा अदालतमा रहँदा पनि आफ्नो घाँटी राजासँग जोडिएको भन्दै राजासँग सहकार्य गरेको बताए । नेता सिटौलाले राष्ट्र र लोकतान्त्रिक व्यवस्थाका लागि बिपी राजासँग मिलेको उल्लेख गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले लोकतान्त्रिक व्यवस्था मासेका कारण राजतन्त्र र राजसंस्था बिदा भएको बताए ।
पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधि सभा सदस्य उदयशमशेर राणाले पञ्चायतकालमा कोइराला परिवारले दुःख, कष्ट भोगेर पनि काँग्रेसलाई बलियो बनाउँदै बहुदलीय व्यवस्था ल्याउन भूमिका खेलेको चर्चा गरे । बिपीको लगनशीलता, त्याग र निष्ठालाई अनुसरण गर्दै व्यवहारिक रूपमा विकास र समृद्धिमा लाग्नुपर्ने धारणा काँग्रेस केन्द्रीय सदस्य राणाको भनाइ थियो ।
काँग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य जीतजङग बस्नेतले बिपीले गरेको योगदान, त्याग र तपस्यालाई वर्षमा दुई दिन सम्झनेभन्दा पनि हरेक दिन उनका सत्प्रेरणालाई अवलम्बन गर्दै देश र जनताका पक्षमा काम गर्न सक्नुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य धना खतिवडाले बिपीले परिकल्पना गरेअनुसारको लोकतान्त्रिक पद्धति, राजनीतिक स्वतन्त्रता, आर्थिक विकास र शासन पद्धतिमा जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा काँग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, ललितपुर उपसभापति सुदर्शन घिमिरे, ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्कालगायतले बिपीको योगदान र काँग्रेस गर्नुपर्ने योगदानका विषय आफ्नो धारणा राखे ।







