काठमाडौँ । गृह मन्त्रालयको कर्मचारी हुँ भनेर ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गृह मन्त्रालयका कर्मचारी हुँ भन्दै ठगेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको हो।
एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय गंगा हरि न्यौपाने हुन्। सिन्धुलीको भिमानबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनले गृह मन्त्रालयमा करारमा जागिर लगाइदिने भन्दै नागरिकताको फोटोकपी लगायत कागजात लिने गरेका थिए।
गृहकै नक्कली कागजातमा फारम भर्न लगाएर रकम असुली गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिको आपराधिक पृष्ठभूमि समेत देखिएको छ।
उनले २०६९मा सैनिक अनुसन्धान आचरण सम्बन्धी मुद्दामा विशेष अदालतको नक्कली पत्र कीर्ते तयार गरेको र कारागार कार्यालयमा पेस गरी छुटेको भन्ने प्रहरीको प्रतिवेदन देखिएको हो।
२०७४ सालमा उनले भिआइपी कोटामा शान्ति सेनामा पठाउने भनेर ४ लाख र नख्खु कारागारबाट छुटाइदिने भनेर १२ लाख रुपैयाँ ठगी गरेको जाहेरी प्रहरीमा छ।
२०७५ मा उनले जग्गा बिक्री गरिदिने भनेर लालपुर्जा लिएर जग्गा बिक्री गरेर समेत ठगेको समेत मुद्दा थियो।
त्यस्तै नेपाली सेनाको सहायक सेनानी बनाइदिने भनेर आपराधिक विश्वासघात गरेको भन्ने मुद्दा समेत परेको थियो।
२०७९ सालमा भने काठमाडौँ जिल्ला अदालतको कीर्ते फैसला बनाएर लिखतसम्बन्धी कसुर गरेको प्रतिवेदन प्रहरीले फेला पारेको छ।
उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाएको छ।







