काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन्।
बैंकका सञ्चालक रहेका पौडेललाई बुधवार बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा चयन गरेको हो। यसअघि तत्कालीन अध्यक्ष रामशरण पुडासैनीलाई सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा नियुक्त गरेसँगै अध्यक्ष पद रिक्त भएको थियो।
पदभार ग्रहण अघि पौडेलले बुधवार नै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी भइरहेको जनाइएको छ।
नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका पौडेलसँग निजी क्षेत्रका विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीमा नेतृत्वदायी भूमिकासहित दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ।







