काठमाडौँ/रौतहट । जन्मदिनलाई सतकर्ममा जोडौँ अभियान अन्तर्गत आज पञ्चमीको विशेष दिनमा काठमाडौँ र रौतहटमा भव्य वृक्ष रोपण कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचिका राधिका दासी माता र नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले पशुपतिनाथ भण्डारखालमा रुद्राक्ष, पिपल लगायतका सयौँ बिरुवा रोप्दै अभियानलाई समर्थन जनाएका छन्।
रौतहटको चन्द्रपुर-९, सिन्दुरेघारी चादिखोला छेउमा पनि महेश श्रेष्ठसहित दर्जनौँ महिलाले पञ्चमीमा वृक्ष रोपेका थिए। तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा विभिन्न संस्थाका अध्यक्ष र सतकर्ममा जोडिएका व्यक्तिहरू उपस्थित थिए।
अभियानका संयोजक गोविन्दप्रसाद चौलागाईंका अनुसार, यस अभियानले अबको लक्ष प्रत्येक वडामा फूलफूलिएको आकर्षक बगैँचा तयार गर्नु रहेको छ। उनले भने, “सतकर्मको माध्यमबाट खर्चिलो जन्मोत्सवको प्रतिस्पर्धा घटाउँदै सेवा भावलाई प्रवर्द्धन गर्न सकिन्छ।”

यस अभियान अन्तर्गत अहिलेसम्म १७ जिल्लामा नौ हजार भन्दा बढी वृक्ष रोपिएको जानकारी दिइएको छ। अभियानमा नेपाल सरकारका मुख्यसचिवदेखि सर्वोच्च अदालतका मुख्यसचिव, पूर्वप्रधानमन्त्री, वरिष्ठ कलाकार, पत्रकार र प्रहरी महानिरीक्षकसम्मले सहभागिता जनाइसकेका छन्।
संयोजक चौलागाईंले सबै नागरिकलाई जन्मदिनमा बिरुवा रोप्न जोड दिँदै भने, “आउनुहोस्, जोडिएर जन्मदिनमा सँगै वृक्ष रोपौँ।”








