काठमाडौँ । जेन जेड आन्दोलन चर्किएसँगै शीर्ष नेतामाथि आक्रमणको जोखिम बढेपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सार्न थालेका छन्। प्रशासनिक उच्च स्रोतका अनुसार चारवटै सुरक्षा निकाय परिचालित छन् र नेताहरूलाई सुरक्षित स्थानमा पुर्याउने काम लगातार भइरहेको छ।
बालुवाटारसहित उपत्यकाका विभिन्न स्थान र शीर्ष नेताहरूको निवास वरिपरि सैनिक तथा निजी हेलिकोप्टर अवतरण गरिएको छ। अन्य नेताहरूलाई पनि सुरक्षित स्थानमा राखिएको एक उच्च अधिकारीले जानकारी दिएका छन्। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी र प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा तनाव सिर्जना भएपछि हेलिकोप्टरमार्फत सुरक्षात्मक व्यवस्था मिलाइएको ती स्रोतले जनाएका छन्।
भैंसेपाटीस्थित मन्त्रिक्वार्टरमा समेत पटकपटक हेलिकोप्टर अवतरण गरिएको छ। त्यहाँबाट केही नेताहरूलाई उद्दार गरिएको भए पनि उनीहरूलाई कहाँ लगिएको भन्ने विवरण खुलाइएको छैन।
सोमबारको जेन जेड आन्दोलनमा प्रहरीले गरेको दमनका क्रममा १९ जना युवाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।







