२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारमा जे देखियो : धुवाँ, खरानी र प्रशासनिक भग्नावशेष

अ+ अ-

सिंहदरवारभित्र खरानी भएका भवन र ध्वस्त गाडी मात्र होइन, राज्य र नागरिकबीचको विश्वास पनि खरानी भएको छ। अब आम नागरिकको मनमा एउटै प्रश्न छ – मुलुक कसरी अघि बढ्छ ? प्रशासन डटकमका समाचार प्रमुख एस राज उपाध्यायको स्थलगत रिपोर्ट;

राजधानीको मुटुमा कालो धुवाँ र खरानी
बुधबार बिहान सिंहदरवार प्रवेश गर्ने जो-कोहीलाई लाग्थ्यो-राजधानीको प्रशासनिक केन्द्र होइन, युद्धग्रस्त क्षेत्र हो। सडकमा धुलो, आकाशमा कालो धुवाँ। डढेर खरानी भएका रुख, कालो देखिएका भित्ताहरू। चम्किला चाइनिज इट्टा र सेतो कमेरोले पोतेका भवन कालो लप्काले ढाकिएका। राजधानीको मुटुमा यति भयावह दृश्य नेपालीले यसअघि देखेका थिएनन्। करीब डेढ दशकको नियमित सिंहदरवार ओहोरदोहोरका क्रममा मैले देखेको यो दृश्य कुनै फिल्मको जस्तो थियो।

आँगन र पार्किङमा खरानी बनेका सवारी
सिंहदरवारको आँगन र पार्किङमा राखिएका अधिकांश गाडी जलेर खरानी भएका छन्। अधिकांश मोटरसाइकल र गाडीमा धातुको ढाँचा मात्र बाँकी देखिन्थ्यो। कतै टायर मात्र बाँकी, कतै सिसाका टुक्रा यत्रतत्र। कतिपय गाडी पल्टाइएका थिए। स्वास्थ्य मन्त्रालयबाहेक सिंहदरवारभित्र रहेका सबै मन्त्रालयमध्ये दुई–चार बाहेक प्राय: सबै मन्त्रालयमा आगलागी वा तोडफोडको छाप बसेको थियो।

प्रधानमन्त्री कार्यालय अझै धुवाँ उड्दै
देशको कार्यकारी शक्ति केन्द्र-प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय। भद्रकालीतर्फको भाग बिहानसम्मै बलिरहेको थियो। सेनाका जवानले दमकलमार्फत निभाउने प्रयास गरिरहेका थिए। तर भित्रको अवस्था बुझ्न कठिन थियो, किनकि भित्ताहरू जल्दै झर्दै गरेका कारण कोही पस्न सकिरहेका थिएनन्।

कार्यालयको पछाडिपट्टि बाहिरी पार्किङ स्थलमा राखिएका दर्जनौँ गाडी खरानी भएका थिए। मुलुककै मुख्य कार्यालयमा लागेको आगोले राजनीतिक प्रतीकात्मकता थप गहिरो बनाएको अनुभूति भयो।

अर्थ मन्त्रालयको पछाडिको विनाश
प्रधानमन्त्री कार्यालयसँगको अर्थ मन्त्रालय पनि उस्तै। पछाडिको पार्किङमा रहेका गाडी ध्वस्त भएका थिए। क्यान्टिनतर्फ राखिएका गाडी केही जोगिए पनि मन्त्रालयतर्फ राखिएका मोटरसाइकलसहित अधिकांश गाडी जलेका थिए।

भवनको पछाडिको भाग जलिरहेको थियो भने अगाडिको भाग आंशिक मात्र प्रभावित देखिन्थ्यो। तर अगाडिको पार्किङमा तोडफोडका छाप स्पष्ट थिए। देशको वित्तीय केन्द्र आफैँ आगोको चपेटामा परेपछि अबको अर्थतन्त्र कस्तो होला भन्ने प्रश्न मनमा आयो।

गृह मन्त्रालयमा फैलिएको आगो
शान्ति-सुरक्षा नियन्त्रित गर्ने गृह मन्त्रालय। अग्र भाग मात्र होइन, पछाडि पट्टिसमेत पुरै जलेर खरानी झर्दै थियो। अगाडि र पछाडि दुवैपट्टिका गाडी जलेका थिए। कतिपयमा सिसा मात्र फुटेका थिए तर अधिकांश गाडी जलेका थिए।

प्रहरी र प्रशासन नियन्त्रण गर्ने निकाय आफैँ असुरक्षित र जलिरहेको देख्दा मनमा चसक्क भयो।

ऊर्जा मन्त्रालय र जलेका टिनका टहरा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अग्र भाग र आँगनमा रहेका प्राय: सबै गाडी जलेका थिए। मोटरसाइकल ध्वस्त देखिन्थे।

गृह र राष्ट्रिय सुरक्षा परिषदबीचको टिनको टहरा-जहाँ साना दलका संसदीय कार्यालय थिए-अगाडिको भाग पूर्ण रूपमा जलेर ध्वस्त बनेको थियो भने अगाडिका गाडीहरूको स्थिति पनि पूर्ण रूपमा बिग्रिएको थियो।

शिक्षा मन्त्रालय र सतर्कतामा पनि आगो
शिक्षा मन्त्रालय र सतर्कता केन्द्र अगाडि पल्टाइएका गाडीले आन्दोलित जेन जेड कति आक्रामक थिए भन्ने अनुमान लगाउन सकिन्छ। सिङ्गै गाडी उत्तानो पल्टाइएको थियो। अरु गाडी भने जलेर खरानी भएका थिए। सवारी साधन त लगभग सबै जलेर ध्वस्त भएको देखिन्थ्यो।

एटिएम पनि बचेन
माछापुछ्रे बैंकको एक मात्र एटिएम काउन्टर पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। सेन्ट्रल क्यान्टिनको भवनसँगै रहेका राष्ट्रिय वाणिज्य बैंक र एभरेस्ट बैंकलाई खासै क्षति नपुगेको भए पनि नेपाल टेलिभिजन परिसरको भित्तातर्फ (शिक्षा मन्त्रालयको अपोजिट) रहेको काउन्टर भने पूर्ण रूपमा क्षतिग्रस्त थियो।

नेपाल टेलिभिजनभित्रका केही सवारी भ्यान पनि फुटेका अवस्थामा थिए। मुलुकका शिक्षादेखि सञ्चारसम्मका निकाय प्रभावित बनेका थिए।

आंशिक सुरक्षित मन्त्रालयहरू
महिला तथा बालबालिका मन्त्रालय अगाडिका केही गाडी र मोटरसाइकल क्षतिग्रस्त भए पनि भवन अपेक्षाकृत सुरक्षित थियो। सञ्चार मन्त्रालयमा आगलागी भएन तर केही गाडीका सिसा फुटेका थिए।

राष्ट्रिय योजना आयोग र मुद्रण विभाग पूर्ण सुरक्षित थिए।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि पूर्ण रूपमा सुरक्षित थियो। यहाँसम्म प्रदर्शनकारी पुगेको देखिएन। भवनमा कुनै क्षति थिएन भने गमला समेत ढलेका थिएनन्, आँगनमा पार्किङ गरिएका सवारी सबै सकुशल थिए।

मिश्रित क्षति भएको संरचना
शहरी विकास मन्त्रालयमा क्षति पुगेको देखिन्थ्यो। अगाडिका दुई गाडीमा तोडफोड, पछाडिका गाडी जलेर खरानी।

अपोजिटमा रहेको वातावरण मन्त्रालयको अग्र भाग जलेर गाडी खरानी भएको थियो।

कृषि, भौतिक पूर्वाधार तथा खानेपानी मन्त्रालयमा असर
कृषि मन्त्रालयको अग्र भाग जलेको देखिन्थ्यो भने अगाडि पार्किङ गरिएका गाडी खरानी भएका थिए।

अपोजिटमा रहेका भौतिक पूर्वाधार तथा खानेपानी मन्त्रालयमा सामान्य क्षति थियो। केही गाडीका सिसा फुटेका, गमला तोडिएका भेटिए तर मन्त्रालय भवनमा भने आगजनी खासै देखिएन। छेउको टिनको टहरा भने जलेर ध्वस्त भएको दृश्य विभत्स थियो।

संसद सचिवालय र पर्यटन मन्त्रालय
संघीय संसद सचिवालय र पर्यटन मन्त्रालय सुरक्षित नै थिए।

तर सचिवालय र पूर्वाधार मन्त्रालयबीचको पार्किङमा राखिएका दर्जनौँ गाडी र मोटरसाइकलमध्ये ९० प्रतिशत जलेर खरानी। ५-७ प्रतिशत मात्र मोटरसाइकल बाँचे।

संघीय मामिला मन्त्रालयमा ठूलो आगलागी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अग्र भाग जलेको थियो भने भुइँतलाको एकातर्फका कोठा पनि आगलागीको चपेटामा परेर खरानी भएका थिए।

गाडी सबै ध्वस्त थिए। माथिल्लो तल्लामा सामान्य तोडफोड भएको देखिन्थ्यो भने मन्त्रीको गोप्यतर्फको कोठामा सोफा लडाइएका थिए।

अन्य मन्त्रालय र दल कार्यालय ध्वस्त
वन मन्त्रालय भवनमा आगजनी भएको देखिएन तर अगाडिका गाडीमा तोडफोड भएको थियो। कानुन मन्त्रालयमा आगलागी नभए पनि दर्जनौँ गाडी तोडफोड गरिएको थियो। वरपर पार्किङ भएका गाडीका कारण संख्यामा क्षति बढी देखिन्थ्यो।

रक्षा मन्त्रालय सुरक्षित थियो भने सेनाको कार्यालय पनि सकुशल थियो। रेडियो नेपालसँगै रहेका काँग्रेस र एमालेका संसदीय दल कार्यालय पूर्ण रूपमा ध्वस्त। क्यान्टिन र गाडीसमेत जलेका थिए।

जलिरहेको प्रहरी गण र सवारी
पुरानो संसद भवन अगाडि, जसको अपोजिटतर्फ प्रहरी गण रहेको थियो-हाल मुख्यालय अनामनगर सरेको भए पनि केही प्रहरी त्यहाँ तैनाथ थिए। अगाडिको ठूलो पार्किङमा राखिएका सवारी साधन जलेर खरानी। प्रहरी गणभित्रका संरचना समेत जलेका थिए।

८० प्रतिशतभन्दा बढी क्षति
समग्रमा सिंहदरवारभित्र करिब ८० प्रतिशतभन्दा बढी कार्यालय र सवारीसाधनमा क्षति। राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका दस्ताबेज जलेर नष्ट। प्रशासनिक रेकर्ड, कम्प्युटर खरानी। राज्यको संस्थागत स्मृति गुम्ने खतरा उच्च।

देशकै लागि कहाली लाग्दो घटना
जेन-जेड आन्दोलनको दुई दिनले ल्याएको क्षति तात्कालिक मात्र होइन, पुस्तामै गहिरो दाग। राज्यतर्फबाट दर्जनौँ युवाको ज्यान गयो। प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट खर्बौँको धनजन नष्ट भयो। यस पुस्ताका लागि यो कहाली लाग्दो स्मृति बन्यो।

दोषी व्यवस्था
राजनीतिक नेतृत्व असन्तुष्टि बुझ्न असफल भएको धेरैको बुझाइ छ। चरम भ्रष्टाचार, नातावाद, कृपावाद र मनपरी नियुक्तिले जनता आजित भइरहेका बेला सत्ता पक्षका शीर्ष नेताहरूको दम्भी गर्जनले नागरिक अझ आक्रोशित। शासनले सिंहदरवार बाहिर पनि देश छ भन्ने बिर्सियो। आन्दोलन शासन व्यवस्थाको असफलताको प्रत्यक्ष नतिजा-सिंहदरवारको दृश्यले त्यसै भान गरायो।

आन्दोलनको रौद्र रूप र विदेशी हस्तक्षेपको प्रश्न
नयाँ नेपाल निर्माण गर्ने सपना बोकेको पुस्ताको आन्दोलन अन्ततः उद्दण्डता र तोडफोडमा परिणत। यस्तो रौद्र रूप इतिहासमै विरलै। बङ्गलादेशको उदाहरण कैयन् पटक दिइँदै गर्दा, आँखै अगाडि संसद भवनदेखि राष्ट्रपति निवास हुँदै मुख्य प्रशासनिक केन्द्र सिंहदरवार क्षणभरमै आगोको लप्काले निल्यो। देशी–विदेशी अदृश्य शक्तिहरूको घुसपैठ भएरनभएको अझै स्पष्ट छैन तर धेरैले अनुमान गरिरहेका छन्।

निष्कर्ष
सिंहदरवारमा देखिएको विनाश भवन वा गाडीको मात्र होइन। यो राज्य–नागरिक सम्बन्धको गहिरो सङ्कटको प्रमाण हो। मानवीय र भौतिक क्षति हेर्दा अब थप सिक्न बाँकी त केही सायदै होला। तर अब देशको राजनीति कसरी अघि बढ्छ—यो आम प्रश्न बनेको छ।