काठमाडौँ। हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नभई पुनर्लेखन गर्नुपर्ने माग जेन जेडको रहेको बताएका छन् ।
जेन जेडको भावना प्रतिनिधित्व हुने गरी अहिलेलाई संसद विघटन गरेर अन्तरिम सरकार बनाउनु पर्ने उनले बताएका हुन्।
‘अन्तरिम सरकार हो । संविधान चाहिन्छ, खारेज नगर्ने । अरूले हस्तक्षेप हुन्छ । तर संविधान संशोधन हुनुपर्छ,’ उनले भने।
पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने र राम्रो व्यक्तिलाई मन्त्री बनाउने उनले बताए। ‘पहिलो फिमेल प्रधानमन्त्री । नेपालीले इतिहास रचेको हो,’ उनले भने।
आफूहरूले प्रधानमन्त्री नखोजेको पनि उनले बताए। ‘सरकार हामीलाई चाहिएको होइन । सरकारमा जाँदैनौँ । चाहिएको भए प्रधानमन्त्री मलाइ भन्थे होला नि, होइन । हामीले परिवर्तन खोजेको हो । अब कुर्सीमा पुगेपछि घमण्ड नहोस् । अब हरेक नेपालीको आवाज सुनिन्छ,’ उनले भने।
जेन जेडको आन्दोलनमा दमन गर्नेलाई नछोड्न पनि उनले चेतावनी दिए। ‘परिवर्तन गर्दा गोली खाने देश हाम्रो ? हामीले मागेको सुशान त थियो । त्यति माग्दा गोली खानुपर्ने ?,’ उनले प्रश्न गरे। पार्टीहरूलाई उनले बुढा नेता नभई नयाँ युवाले नेतृत्व गर्न पनि उनले आग्रह गरे ।







