वीरगञ्ज । स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका कैदी बन्दी भाग्न पाएनन् ।
मुलुकभरका अधिकांश कारागारबाट कैदी बन्दी भाग्दा पनि एक हजार ३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढंगले कारागारमा नै राख्न सफल भएको वीरगञ्ज कारागारले जनाएको छ ।
कारागार कार्यालयका प्रशासक बाबुलाल रेग्मीका अनुसार मंगलबार रातिदेखि नै कैदीबन्दीले कारागारभित्रको सिसी क्यामेरा फुटाउने, भित्रका संरचना ध्वस्त पार्ने र तीन ठाउँबाट कारागारको पर्खाल भत्काएर भाग्ने कोसिस गरे पनि तत्कालै नियन्त्रणमा लिन सकिएको बताए ।
“कैदीबन्दीले तीन स्थानबाट पर्खाल भत्काएर कारागारबाट भाग्ने प्रयास गरेका थिए”, उनले भने, “पटक-पटक उम्कने प्रयास गरेका थिए । तर भाग्न सकेनन् । मानवीय क्षति हुनबाट पनि जोगायौँ ।” कारागार प्रशासक रेग्मीले सम्पूर्ण कैदी बन्दी पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिए।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले हवाई फायर तथा घुँडामुनि गोली चलाएर कैदीबन्दीलाई नियन्त्रणमा लिन सकिएको बताए। अहिले वीरगञ्ज कारागारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएका छन् ।







