काठमाडौँ । भदौ २३ र २४ गते जेन जेडद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा दीप प्रज्वलन गरिएको छ । ठमेलका रात्रिकालीन व्यवसायीले आज नर्सिङ चोकमा जेन जेड प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोक सभा गरेका हुन् ।
शोक सभामा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले जेन जेडको प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे। सोही अवसरमा एक मिनेट मौन धारण पनि गरिएको थियो ।
यस्तै, जेन जेडको प्रदर्शनका कारण बन्द भएका यहाँका व्यवसाय सञ्चालन हुन थालेका छन् । परिषद्ले आज एक विज्ञप्ति जारी गरी रातको समयमा पनि सञ्चालन हुने व्यवसाय भने सुरक्षाका कारण राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ । परिषद्का उपाध्यक्ष धमलाले सुरक्षित रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सबैलाई आग्रह गरे ।







