काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर शुभकामना दिएका छन्। ट्रुथ सोसलमा प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्रम्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबीच छलफल भएको बताएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्, ‘मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनले राम्रो काम गरिरहेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले अगाडि लेखेका छन्, ‘रुस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईँको सहयोगको लागि धन्यवाद।’
यसैबीच, प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जाल पोस्टमार्फत् दुई नेताहरूबीच भएको कुराकानी सार्वजनिक गरेका छन्। प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन् , ‘मेरो साथी राष्ट्रपति ट्रम्प,मेरो ७५ औँ जन्मदिनमा तपाईँको फोन कल र शुभकामनाको लागि धन्यवाद। तपाईँजस्तै,म पनि भारत-अमेरिका व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पूर्णरूपमा प्रतिबद्ध छु।’







