काठमाडौँ। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस प्रदेश संसदीय दलले प्रदेशसभा सञ्चालनमा समयानुकूल निर्णय गर्ने भएको छ ।
प्रदेश सभा सञ्चालन सम्बन्धी संसदमा प्रतिनिधित्व गर्ने अन्य दलसँग संवाद गर्ने र समयानुकूल निर्णय गर्ने दलको बैठकले निर्णय गरेको हो ।
बागमतीका मुख्यमन्त्रीसमेत रहेका दल नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार भएको भर्चुअल बैठकमा जेन जेडको आन्दोलनपछि विकसित घटनाक्रमको समीक्षा र प्रदेश सरकार सञ्चालनको सम्बन्धमा छलफल भएको जनाइएको छ ।
दल बैठकले प्रदेश सभा संसदीय समितिलाई थप क्रियाशील बनाउने निर्णय पनि गरेको छ । यद्यपि, हेटौँडा उपमहानगरपालिका-१०, स्थित प्रदेशसभा सचिवालयको नयाँ र पुरानो दुवै भवन २४ भदौमा भएको तोडफोड र आगजनीबाट ध्वस्त भएको छ ।
यसैगरी, जेन जेडको प्रदर्शनको क्रममा संघीय व्यवस्थापिका, प्रदेश सभा, संघीय तथा प्रदेश कार्यपालिका तथा न्यायलयहरु, स्थानीय तहका भौतिक संरचना, राजनीतिक दलका विभिन्न तहका कार्यालय, राजनीतिक नेतृत्व, सञ्चार गृह तथा उद्योगी, सुरक्षा निकाय र निजी आवास, सवारीसाधन, व्यापारिक केन्द्रमा भएको आगजनी र तोडफोडको घोर भर्त्सना गर्ने निर्णय गरिएको छ ।
नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र बहालवाला पराष्ट्रमन्त्री डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको भत्सर्ना गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कडा कारवाहीको माग बैठकले गरेको छ ।
दलको बैठकले संविधान, राष्ट्रियता र लोकतन्त्रको मूल मर्मअनुसार मुलुकलाई निकास दिएकोले राष्ट्रपति रामचन्द्र पौडेलप्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गरेको छ ।
३ असोजमा संविधान दिवसलाई संविधानको संवर्द्धन र महत्त्व दर्साउने गरी संयमित ढंगले मनाउनुपर्नेमा सरकारलाई सुझाव दिइएको छ । समाजमा शान्ति, सुरक्षा र सदभाव कायम राख्न काँग्रेसका प्रदेश सभा सदस्यहरूले नेतृत्वदायी भूमिका खेल्दै सामाजिक अभियान्ताहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
दलले सुशासनको माग राख्दै जेन जेड युवाद्वारा आयोजित प्रदर्शनको क्रम भएको मानवीय क्षतिले स्तब्ध बनाएको बताउँदै दलले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।







