काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पाँच प्रदेशका सभापतिहरूले केन्द्रीय सभापति रवि लामिछानेको विकल्प नखोजिएको बताएका छन् ।
रास्वपामा पुनर्गठनको माग उठिरहेको समाचार आएपछि प्रदेश सभापतिहरूले पुनर्गठनको पक्षमा नभएको बताएका हुन् ।
कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका सभापतिहरूले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत सभापति रविको विकल्प नखोजिएको बताएका हुन् । गण्डकी र कर्णालीका सभापति भने उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।
बागमती सभापति अत्युत्तम लामिछानेले सभापति रविको विकल्प नखोजिएको बताए । उनले भने, ‘पुराना पार्टीमा चलेको हावा रास्वपा पनि कतै त्यही हो कि । यो हावामा कदापी विश्वास गर्दैनौँ ।’
कोशीका सभापति तपेश्वर यादवले सभापति रवि प्रति पूर्ण विश्वास भएकाले विकल्प नखोजिने बताए । कोशी कार्यवाहक सभापति सरिन तामाङले सभापति रवि विनाको रास्वपा परिकल्पना नगरिएको बताइन् । तल उठेका कुरा केन्द्रमा राखिदिनुस् है भनेका कारणले सुझावहरू बुझाएको बताइन् ।
लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले नेतृत्वका बारेमा कुरै गर्न नपाउने रास्वपामा नहुने बताए ।
‘सभापतिको विकल्पको बारेमा हामीले सोचेका पनि छैनौँ । त्यो कुरा हामीले उठाएका छैनौँ,’ पाठकले भने । लुम्बिनी प्रदेश समितिको बैठकबाट आएका धारणालाई लिखित रूपमा केन्द्रलाई बुझाउँदा पार्टी पुनर्गठनको सुझावहरू दिइएको थियो ।
सुदूरपश्चिमका सभापति प्रकाश विष्टले सभापति रविको विकल्प नखोजिएको बताए । सुदूरपश्चिम प्रदेश समितिको सोमबार भएको बैठकबाट आएका धारणाका आधारमा केन्द्रलाई पठाइएको पत्रमा सभापति रविले पद त्याग्नुपर्ने उल्लेख छ ।







