काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेन जेड’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात् गर्दै काँग्रेस नयाँ ढंगले रूपान्तरण हुने बताएका छन् ।
पार्टीको झापा निर्वाचन क्षेत्र नं १, क्षेत्रीय समितिले आज गृहनगर धुलाबारीमा आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रियामा उहाँले पार्टीमा रूपान्तरणको विकल्प नरहेको धारणा राखेका छन्।
महामन्त्री शर्माले भने,“समय बदलिएको छ, सबै बदलिनुपर्छ । नेता, कर्मचारी संयन्त्र सबै बदलिनुपर्छ । सिंहदरवार मात्र होइन, गाउँ गाउँका हरेक तह बदलिनुपर्छ, चिया पसल गर्नेहरू पनि बदलिनुपर्छ । पार्टीको कुरा गर्दा अब जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तिनले बिदा लिन्छन् ।”
‘जेन जेड’ प्रदर्शनले सबैको आँखा खोलिदिएको धारणा व्यक्त गर्दै उहाँले लोकतान्त्रिक पद्धतिप्रतिको उच्च चेत, भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदमको आवश्यकता र नेतृत्व परिवर्तन यो आन्दोलनको सन्देश रहेको बताए ।
आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवम् तोडफोड गर्नेहरूका विषयमा गहन छानबिन हुनुपर्ने बताउँदै महामन्त्री शर्माले दोषी जो छन्, उनीहरूप्रति कुनै मोलाहिजा नराखी कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिए ।
उनले आजै मेचीनगर-१० स्थित पार्टीको क्षेत्रीय कार्यालय, मेचीनगर नगरपालिकासहित भदौ २४ गते आगजनी तथा तोडफोडबाट ध्वस्त भएको आफ्नो निजी निवासको अवलोकन गरेका छन् ।







