काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीहरू एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्नुपर्ने बताएका छन् ।
लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू सक्रिय रहेको भन्दै उनले दलहरूको जागरूकता र एकतामा जोड दिएका हुन् ।
आइतबार बिहान महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘फेरि पार्टीहरू जागरूक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्ने छौँ । हामीमा भएका कतिपय कमजोरी त्रुटिहरूलाई पनि समीक्षा गर्नेछौँ ।’
पार्टी कार्यालय र नेताहरूको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको बताउँदै उनले भने, ‘हामी पुनः जागरूक भएर उठ्ने छौँ ।’
प्रवक्ता महतले राजनीतिक दलहरूलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठुलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरू निर्माण भएको बताए । काँग्रेस समीक्षासहित आउने र नेपाललाई विकास निर्माण तथा रोजगारीको दिशामा लैजानेबारे गम्भीर चिन्तन गर्ने बताएका छन् ।







