लेख सार:
निजामती सेवा भन्नाले सरकारी कार्यकारी अङ्ग अन्तर्गत काम गर्ने एउटा स्थायी संगठन वा संरचना हो। यसलाई व्यावसायिक र निष्पक्ष प्रशासनिक संयन्त्र मानिन्छ। सरल भाषामा भन्नुपर्दा, निजामती सेवा देश चलाउन मद्दत गर्ने स्थायी सरकारी कर्मचारीहरूको समूह हो । निजामती सेवालाई कतै लोक सेवा पनि भन्ने गरेको पाइन्छ। निजामती सेवा भनेको कुनै पनि राज्यको मेरुदण्ड हो। यो एक यस्तो संस्था हो जसले राजनीतिक हस्तक्षेपबाट मुक्त भई देशको प्रशासनलाई निष्पक्ष, कुशल र निरन्तर रूपमा चलाउन महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले यसलाई राज्यको स्थायी सरकार भनिन्छ। राजनीति परिवर्तन भए पनि प्रशासनिकतन्त्र परिवर्तन हुँदैन। यो निरन्तर चलिरहन्छ। यस लेखमा वर्तमान सन्दर्भमा नेपालको निजामती सेवा: सुशासन र यसका चुनौतीहरूका बारेमा चर्चा गर्ने जमर्को गरेको छु।
विषय प्रवेश
निजामती सेवा भन्नासाथै यसका दैनन्दिन प्रशासनका साथसाथै सरकारको विगत वर्तमान र भविष्यका कार्य योजना सञ्चालनका विषयहरू पर्न आउँछन्। त्यससँग शासन प्रशासन र सुशासनका विषयहरू गाँसिन आउँछन्। सरकारका सबै अङ्गहरू प्रशासनिक सिद्धान्तअनुसार सञ्चालनमा रहेका छन् कि छैनन्। हरेक नागरिकमा सो सम्बन्धी जिज्ञासा उठ्नु स्वाभाविकै हो। प्रशासनिक सेवा छिटोछरितो एवं चुस्त दुरुस्त बनाउनका लागि नेपालमा विभिन्न निकायहरू सक्रिय रहेको पाइन्छन् भने विभिन्न कालखण्डमा विभिन्न आयोगहरू गठन गरी सोको सुझावहरू कार्यान्वयन गर्दै आइरहेको पनि देखिन्छ। नेपालको प्राचीन लिच्छविकालीन राजा मानदेवको पालो प्रशासनिक सुव्यवस्थाको स्वर्ण युग मानिन्छ। उक्त कालदेखि हालसम्मका सबै प्रशासनिक इतिहास बेलिबिस्तार लगाउँदा लामो हुन जाने हुँदा यहाँ राणा शासनकालदेखि हालसम्मका महत्त्वपूर्ण एवं ऐतिहासिक प्रशासनिक उपलब्धिहरू छोटकरीमा प्रस्तुत गर्न गइरहेको छु।
सार्वजनिक प्रशासनका प्रमुख सिद्धान्तहरू:
सार्वजनिक प्रशासनका सिद्धान्तहरू भन्नाले ती मौलिक मान्यता वा दिशानिर्देश हुन्, जुन एक कुशल, प्रभावकारी र न्यायपूर्ण प्रशासनिक प्रणालीको स्थापनाको लागि आवश्यक मानिन्छन्। सुशासनका लागि आधार स्तम्भ मानिएका यी सिद्धान्तहरू कानुनको शासन, पारदर्शिता, जबाफदेहिता, सहभागिता, दक्षता र प्रभावकारिता, समानुपातिक र समावेशिता एवं नैतिकता र पूर्वनियतताको सिद्धान्तहरू हुन्। सार्वजनिक प्रशासनका यी महत्त्वपूर्ण सिद्धान्तहरू नेपालको सार्वजनिक प्रशासनले अवलम्बन गरिरहेका छन् कि छैनन्? सरोकारवालाहरू सबै सचेत हुनु जरुरी देखिन्छ।
राणाकालीन सार्वजनिक प्रशासन
विभिन्न काण्डै काण्ड मच्चाएर शाहवंशीय राजाहरूबाट राज्य शक्ति हत्याएका राणा शासनको सार्वजनिक प्रशासन एकदमै केन्द्रीकृत, निरङ्कुश र व्यक्तिगत स्वार्थ प्रधान पाइन्छ।”लूट र दमन” मा आधारित यो प्रशासनको मुख्य उद्देश्य जनताको सेवा गर्ने नभई राणा परिवारको शक्ति र सम्पत्ति लगातार बढाउने देखिन्छ। आधुनिक सार्वजनिक प्रशासनिक सिद्धान्त विपरीत भएकाले यसले नेपाललाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि धकेली दियो। तापनि केही आधुनिक संस्थाहरूको सुरुवात जस्तै मुलुकी ऐन, केन्द्रीय कार्यालय सिंहदरबार स्थापना गरेको हुँदा केही आधार स्तम्भ भने बनाउन सकेको देखिन्छ। तर समग्रमा, राणा शासनको प्रशासनिक ढाँचा नेपालको इतिहासमा एउटा नकारात्मक विरासतको रूपमा कलङ्कित रहेको पाइन्छ।
पञ्चायतकालीन सार्वजनिक प्रशासन
निरङ्कुश जहानियाँ राणा शासनको अन्त्यपछि बि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्रको बहाली भएको हो। तर पनि विभिन्न स्वार्थ लिप्त तत्त्वहरूले गर्दा जन निर्वाचित सरकार विघटन गरेर नेताहरूलाई जेल हालेर निर्दलीय पञ्चायती प्रजातन्त्रको घोषणा गरेको देखिन्छ। ३० वर्षसम्म कायम रहेको यो पञ्चायती शासनलाई “आधुनिक सार्वजनिक प्रशासनिक ढाँचाको निर्माण काल” मान्न सकिने विद्वानहरूको मत पाइन्छ। यो कालमा राणा शासनको निरङ्कुश मोडललाई परिवर्तन गरी एक केन्द्रीकृत तर विस्तारित प्रशासनिक तन्त्रको स्थापना भएको देखिन्छ। विकास निर्माणको भौतिक पूर्वाधार निर्माण योजनाबद्ध विकासको थालनी, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, प्रशासनिक संस्थाहरूको संस्थापना र सुधार तथा सीमितै भए पनि स्थानीय स्वशासनको औपचारिक सुरुवात भएको देखिन्छ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वजनिक प्रशासन
मुख्यतया संवैधानिक संरचना, सेवा वितरण र सुशासनका क्षेत्रमा केन्द्रित सङ्घीयतामा नेपालले सार्वजनिक प्रशासनका क्षेत्रमा ऐतिहासिक र संरचनात्मक उपलब्धिहरू हासिल गरेको पाइन्छ। राज्य शक्तिको स्रोत सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा सहकार्य सह अस्तित्व र समानुपातिक सिद्धान्तमा आधारित संघीय ढाँचाको सफल स्थापना गरी ऐतिहासिक संरचनात्मक परिवर्तन गरेको देखिन्छ। जसले सेवा वितरणमा क्रान्तिकारी सुधार ल्याएको पाइन्छ। यस सुधारले जनताको घरदैलोमा सेवा पुर्याउने उद्देश्यले घरघरमा सिंहदरबारको अवधारणा कार्यान्वयन गरी संवैधानिक रूपमा बलियो सुशासन स्थापना गरेको पाइन्छ। २१औँ शताब्दीको प्रशासन डिजिटलाइजेशन प्रविधिमा आधारित सुशासनको नारा दिई नागरिकमा सेवा प्रवाह गरेको पाइन्छ।
नेपालको सार्वजनिक प्रशासनको सबैभन्दा ठूलो उपलब्धि भनेको लोकतान्त्रिक, समावेशी र विकेन्द्रीकृत शासनको आधार स्तम्भ तयार पार्नु हो। जसले सार्वजनिक सेवा जनताको घरदैलोमा पुर्याई सुशासनका लागि संवैधानिक निकायहरू स्थापना गरिएका छन्। तापनि यो नयाँ ढाँचालाई कुशल, जबाफदेही र पूर्ण रूपमा कार्यान्वयन गराउन अझै चुनौतीहरू प्रशस्त देखिन्छन्। केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव कार्यक्षेत्र, अधिकार र राजस्व साझेदारीको स्पष्टताको अभाव देखिन्छ। स्थानीय तह केन्द्र र प्रदेशमा निर्भर रही आफ्नो राजस्व सृजना गर्न सकिरहेका छैनन्। नयाँ संरचनाअनुसार पर्याप्त तालिम र तार्किक ढाँचाको अभाव देखिन्छ। प्रशासनमा राजनीतिक हस्तक्षेप अझै पनि गम्भीर समस्या बनिरहेको पाइन्छ। समग्रमा, नेपालको प्रशासनिक इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वजनिक प्रशासन एक ऐतिहासिक र सराहनीय पृष्ठभूमि तयार पार्न सफल भएको देखिन्छ।
निष्कर्ष
राणाकाल र पञ्चायत काल जनभावना अनुरूपको स्थापित शासन थिएन। त्यसैले शासकले जे चाह्यो त्यही हुने नै भयो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको २१औँ शताब्दीको सार्वजनिक प्रशासनले सुशासन दिइरहेका छौँ भनेर दावा गरिरहँदा देशको सार्वजनिक सेवा प्रवाह गर्ने निकायले पत्र तयार गरेर त्यसै निकायको एउटा महाशाखाबाट अर्को महाशाखा पुर्याउन सम्बन्धित सरोकारवाला पक्ष स्वयं प्रत्यक्ष उपस्थित हुनुपर्छ। उक्त व्यक्ति उपस्थित भएर मात्र पुग्दैन। तदारुकतासाथ काम गरी दिन कानेखुसी गर्नुपर्छ। कानेखुसीले मात्र पनि पुग्दैन, तिनीहरूमा आपसी भाइचारा सम्बन्धका साथै काम गरे बापतका नतिजा पोल्टामा पार्न खेल्नुपर्ने आवश्यक भूमिकाका बारेमा पनि वार्तालाप हुनुपर्छ। यहाँसम्म कुरा पुगेको छैन भने सेवाग्राहीको काम हुंदैहुंदैन। कुरो त्यस बिन्दुसम्म पुगेको छ भने देखी काम सम्पन्न गरेको सूचना फोन समेत गरेर पक्का गरिन्छ।
भ्रष्टाचार निर्मूल पार्न र सुशासन कायम गर्न भर्खरै कैयौँ युवा पुस्ताले सहादत प्राप्त गरी सके पछिको ताजा स्थितिमा पनि यस्ता खालका ढिलासुस्ती अनियमितता भ्रष्टाचारी कार्यहरू भइरहन्छन् भने हाम्रो लोक कल्याणकारी सार्वजनिक प्रशासन, सुशासन र विद्युतीय सुशासनका सिद्धान्तहरू कहाँ गए। राष्ट्र सेवकहरूको मानसिकता कहाँ छ। यो देशलाई हामीले कुन दिशामा डोर्याइ रहेका छौँ। हामी अग्रगमनमा छौँ कि पश्च गमनमा छौँ। कुरो मननीय छ।







