काठमाडौँ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा सुकिलुम्बामा नियमित हवाई उडान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले समेत इलामलाई तत्काल ‘संकटग्रस्त क्षेत्र’ घोषणाको लागि सिफारिस गरेको स्मरण गर्दै नेम्वाङले बाढी पहिरोले इलाममा व्यापक जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन पूर्वरूपमा अस्तव्यस्त बनेको बताएका छन् ।
पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा समेत गम्भीर चुनौती थपिएकाले सोहीअनुसार कदम चाल्नुपर्ने उनको माग छ ।
‘जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण आवश्यक राहत सामग्री, औषधि र जनसञ्चार अवरुद्ध भइरहेकाले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु’, इलाम २ का निवर्तमान सांसद समेत रहेका नेम्वाङले भने ।
हिजोमात्र मन्त्रीहरू कुलमान घिसिङ, ओमप्रकाश अर्याल, विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीलाई भेटेर उनले इलाममा पहिरो प्रभावितका लागि एकमुष्ट राहत प्याकेज ल्याउन माग गरेका थिए ।







