काठमाडौँ । जेन जी आन्दोलनको तुलसीपुर कारागारबाट भागेका ६ जना कैदी बन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिप्रका दाङकाका अनुसार कर्तव्य ज्यान मुद्दामा १५ वर्ष कैद सजाय तोकिएका दाङको राप्ती गाउँपालिका-८ पिपरीका बुधराम चौधरी, जवरजस्ती करणी मुद्दामा ७ वर्ष कैद सजाय भोगिरहेका घोराही उपमहानगरपालिका-१३ मौलाका नारायण घर्तीमगर, १८ वर्ष कैद सजाय तोकिएका गडवा गाउँपालिका-१ का सुनिल नेपाली, १२ वर्ष कैद सजाय तोकिएका घोराही-५ का वसन्त सार्की, ८ वर्ष कैद सजाय तोकिएका घोराही-१७ का मनोज चौधरी र १४ वर्ष कैद सजाय तोकिएका सल्यानको कालीमाटी गाउँपालिका-७ का जीवन भन्ने जिउपाल दमाईलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
विभिन्न मुद्दामा तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेका ४ सय ४६ जना कैदी मध्य जेनजी आन्दोलनको क्रममा २ सय ५४ जना भागेका थिए ।
जसमध्ये अहिलेसम्मको अवधिमा १ सय ५४ जनालाई पुनः नियन्त्रणमा लिएर कारागारमा राखिएको छ भने बाहिर जिल्लामा पक्राउ परेका १८ जनालाई सम्बन्धित जिल्लाकै कारागारमा राखिएको कारागार कार्यालय तुलसीपुरले जनाएको छ । ८२ जना कैदी अझै फरार रहेका छन्।







