काठमाडौँ । नेपाली काँग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेको संख्या ५४ प्रतिशत कटेको छ ।
काँग्रेसको १४ औँ महाधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधि थिए । १३ औँ महाधिवेशनबाट १४ औंमा स्वतः प्रतिनिधि भएका केन्द्रीय सदस्य, पार्टी परित्याग गरेका र मृत्यु भएका प्रतिनिधिहरू घटाउँदा हाल कायम ४५५६ जना छन् ।
हाल कायम महाधिवेशन प्रतिनिधि मध्येबाट २४८७ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । उक्त अंक कायम प्रतिनिधिहरूमा ५४.५८ प्रतिशत हो । संकलित हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालयमा बुझाउन लागिएको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भएको हस्ताक्षर संकलन गरिएको थियो । मंसिरभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने दुई महामन्त्रीको तर्क छ ।
काँग्रेस विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको अवस्थामा विशेष महाधिवेशन आव्हान गर्नुपर्ने व्यवस्था छ ।







