काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् पुन:स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पूरा हुनुपर्नेमा जोड दिएका छन् ।
जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद् पुन:स्थापनाको मुद्दा लिएर अघि बढ्न उनले सभामुखलाई सुझाव दिएका छन् ।
सभामुख घिमिरेले ११ राजनीतिक दलका पूर्वप्रमुख सचेतकहरूलाई बोलाएर संसद् पुन:स्थापनाको आवश्यकता र प्रक्रियाबारे छलफल गरेका हुन् । सोही क्रममा राप्रपाका तर्फबाट सहभागी भएका शाहीले संसद्लाई निरन्तरता दिने वा पुन:स्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको बताएका छन् ।
प्रवक्ता शाहीले ८ बुँदे संरचनागत सुधारको खाका प्रस्तुत गरेका थिए । राप्रपाले यी मागहरू पूरा गर्ने प्रतिबद्धता संसदबाट नआएसम्म पुन:स्थापनाको प्रक्रिया रोक्न अडान लिएको छ ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, गैरदलीय स्थानीय तह, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, राष्ट्रिय एकता कायम गर, भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुन, प्रतिनिधि सभा उम्मेदवारको उमेर हद घटाउने, अनलाइन मतदान प्रणालीको व्यवस्था: विदेशमा रहेका करोडौँ नेपाली श्रमिक, विद्यार्थी र पेसाकर्मीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनका लागि सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणालीमार्फत भोट हाल्ने व्यवस्था तत्काल मिलाइनुपर्ने सुझाव दिएका छन् ।







