काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुक अप्ठेरो परिस्थितिमा रहेको भन्दै जन पक्षीय शक्तिहरूलाई एकताबद्ध हुनुपर्ने बताएका छन् ।
जेनजी पुस्ताको विद्रोहको मर्म र भावलाई आत्मसात् गर्दै देशभक्त र सुशासनका लागि जन पक्षीय शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नेता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, नेपाली जनताको सम्प्रभुता, राष्ट्रिय एकता, लोकतन्त्र, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।
श्रेष्ठले पछिल्ला दिनमा युवापुस्ता, विशेष गरी जेनजी पुस्ताले उठाएको प्रश्न र असन्तुष्टिको भावना राजनीतिक दलले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।
नयाँ चेतना र नयाँ आवश्यकता अनुसारको एकतामार्फत मात्रै देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सकिने उनको भनाइ छ ।







