काठमाडौँ। हिउँका कारण हेलिप्याड ढाकिने गरी उत्पन्न हुने ‘ह्वाइटआउट’ अवस्था र कुहिरो लागेको मौसममा व्यावसायिक हेलिकप्टर उडान गर्न नपाइने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ ‘सर्कुलर’ जारी गरेको छ ।
प्राधिकरणले सबै हेलिकप्टर कम्पनीका नाममा बिहीबार सर्कुलर जारी गरेको हो । बुधबार अल्टिच्युड एयरको ‘९एन-एएमएस’ हेलिकप्टर बुधबार सोलुखुम्बु लोबुचेमा दुर्घटनाग्रस्त भएसँगै प्राधिकरणले हिमाली भेग र उचाइमा व्यावसायिक उडान गर्ने हेलिकप्टर उडानका हकमा नयाँ नियम जारी गरेको हो । प्राधिकरणले कम्पनी, पाइलट र सरोकारवालासँग आज छलफल गरेको थियो ।
हेलिकप्टरको खुट्टा (ल्यान्डिङ प्लेट) मा नचिप्लिने वस्तु (बियर पज) जडान गरी सुरक्षित बनाउन समेत प्राधिकरणले सबै कम्पनीलाई भनेको छ ।
उचाइमा व्यावसायिक उडान हुने स्थानमा ‘मार्सलर’ राखेर उडान/अवतरण गराउन समेत प्राधिकरणले भनेको छ । मार्सलरले जमिनमा बसेर उडान/अवतरणमा सहजीकरण गर्छन् । हेलिप्याडमा उडान/अवतरण गर्नु अगाडि हिउँ तथा अन्य वस्तु सफा गरेर मात्र सञ्चालन गर्नसमेत प्राधिकरणले भनेको छ । प्राधिकरणले दर्ता भएका सबै हेलिकप्टर कम्पनीलाई सर्कुलर आजै पठाइसकेको समेत जनाएको छ ।







