काठमाडौँ । बाजुरामा बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –७ को सेरकाटियानजिक बुढीनन्दा नगरपालिका-१ को कोल्टी बसपार्कदेखि मार्तडी हुँदै धनगढी जान लागेको सुप्र ०१००१ ख ३१८१ नम्बरको बस सडकमै पल्टिँदा चालकसहित छ जना घाइते भएका हुन् ।
घाइते हुनेमा बडिमालिका-७ का ४२ वर्षीया शंकरराज सार्की ३२ वर्षीया जयराज जैसी, बुढीनन्दा-१ का ५३ वर्षीया सेते लुहार ५३ वर्षीया जंगबीर सार्की र ४४ वर्षीया जयलाल विक र गौमुल गाउँपालिका-६ का २१ वर्षीया चालक तुलाराम सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइतेहरूलाई अहिले उपचारका लागि कोल्टी आधारभूत अस्पतालमा लिएर उपचार भइरहेको छ । घाइतेको अवस्था अहिले सामान्य रहेको छ । प्रहरीका अनुसार बाटो साँगुरो भएका कारण बस दुर्घटना भएको बताइएको छ ।







