काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले घुस खोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छिन्।
शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले घुस खोरी, पार्टीगत कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी हुन्।
उनले लोकतन्त्रको नाममा अब लुटतन्त्र सह्य नहुने पनि बताइन्। उनले इमान्दार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था नरहने पनि स्पष्ट पारिन्।
जेन जेड आन्दोलनको पृष्ठभूमिमा केही उश्रृंखल समूहहरूले राज्यविहिनताको फाइदा उठाउँदै व्यापारिक क्षेत्रमाथि गरिएको आक्रमण स्वीकार्य नभएको पनि बताइन्। उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेन जेड आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पुर्याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई एक नवीन म्याण्डेट दिएको बताउँदै नेपाल अब एक पछौटे मुलुकको यथास्थितिमा बस्न नसक्ने स्पष्ट पारिन्।







