काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा छ जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको छ।
विभागले सोमबार राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँकेमार्फत बाँके जिल्ला अदालतमा इलेक्ट्रोनिक चुरोट (भेप) अवैध रूपमा ओसारपसार गरी प्रचलित कानुनअनुसार तिर्नुपर्ने राजस्व नबुझाएको अभियोगमा अभियोगपत्र दायर गरेको हो।
अभियोगपत्र दायर हुनेमा हुम्लाको सिमकोट गाउँपालिका–३ का २७ वर्षीय पोन छतेन लामा तामाङ, मुगुको खत्याड गाउँपालिका–५ का ३२ वर्षीय जनकबहादुर रोकाय, सोही ठाउँका २७ वर्षीय भुमी रोकाय, हुम्लाको नाम्खा गाउँपालिका–१ का ३९ वर्षीय पासाङ भनिने प्रमोद लामा, ४८ वर्षीय पेमा छिरिङ लामा र ४२ वर्षीय कुन्साङ दोर्जी लामा रहेका विभागले जनाएको छ।
उनीहरूले कानुनबमोजिम नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व रकम नतिरी भन्सार छली गरी ३९ हजार ९ सय थान इलेक्ट्रिक चुरोट (भेप) नेपाल भित्र्याएको विभागको अनुसन्धानमा पुष्टि भएको छ। उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीतको कार्य गरी दफा ४ (ख), (छ) र (झ) अनुसारको कसुर गरेको ठहर गरिएको छ।
यस आधारमा प्रतिवादीहरूमाथि पाँच करोड छयानब्बे लाख साठी हजार नौ सय बाइस रुपैयाँ बिगो कायम गरी सो रकम जफत गरी शतप्रतिशत जरिवाना गर्ने माग दाबी गरिएको छ।
यस्तै, सोही ऐनको दफा २३(१)(ग) बमोजिम उनीहरूलाई सजाय माग गरिएको छ। भन्सार छली तथा चोरी पैठारीका सामान ओसारपसारमा सहयोग गरेको प्रमाणित भएकाले सवारी धनी छिटुप तामाङ, नायब डिभिजन वन अधिकृत लोकजङ्ग शाही, फरेष्टर सन्तोष खत्री, वन रक्षक कृष्णबहादुर हमाल, सवारी चालक भुमी रोकाय र सहयोगी जनबहादुर रोकायलाई मतियारका रूपमा सजाय गर्न माग गरिएको छ।
त्यसै गरी, अवैध सामान ढुवानीमा प्रयोग भएको ना.अ.प.आ.८३ नम्बरको सवारीसाधन ऐनको दफा ३३ (१) बमोजिम जफत गर्न मागदावी गरिएको विभागले जनाएको छ।








