काठमाडौँ । अध्यागमन विभागले व्यावसायिक भिसा लिएर नेपाल बस्दै आएका चार जना चिनियाँ नागरिकलाई शंकास्पद गतिविधिमा संलग्न रहेको आधारमा आज नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेका मध्ये एक महिला र तीन पुरुष रहेका विभागले जनाएको छ।
उनीहरूलाई काठमाडौँ-१६ सोह्रखुट्टेस्थित मिलिजुली चोक, म्हैपीबाट पक्राउ गरिएको हो। यस क्षेत्रलाई ठूलो संख्यामा चिनियाँ नागरिक बस्ने भएकाले ‘चाइनिज हाउजिङ’का नामले चिनिन्छ।
व्यावसायिक भिसामा आएका ती व्यक्तिहरूले आफ्नो व्यवसाय, कम्पनीको नाम वा सम्बन्धित कुनै पनि विवरण दिन नसकेको र उनीहरूको गतिविधि भिसाको उद्देश्य विपरीत रहेको प्रारम्भिक छानबिनबाट खुलेको प्रवक्ता टीकाराम ढकालले जनाएका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई जागिरको प्रलोभन दिएर टिकटक बनाउन लगाउने, त्यसैको आधारमा अन्य चिनियाँ नागरिकसँग परिचय गराई विवाह गराउन दबाब दिने जस्ता गतिविधिमा संलग्न रहेको पाइएको छ। केही युवतीलाई चीनसम्म लगेर विवाह गराइएका सुराकी पनि प्राप्त भएको विभागले जनाएको छ।
यसबाहेक, म्हैपीस्थित घर भाडामा लिएर नेपाली युवतीहरू राख्ने तथा नेपाललाई केन्द्र बनाएर उनीहरूलाई विभिन्न मुलुकमा लगेर भ्रमण गराउने काममा समेत संलग्न रहेको देखिएको छ।
नियन्त्रणमा परेका मध्ये दुई जना विगत १० वर्षदेखि विभिन्न भिसामा नेपाल बस्दै आएका भए पनि छानबिनका क्रममा उनीहरूले पासपोर्ट र भिसा कागजात देखाउन नसकेको तथा अध्यागमन तथा सुरक्षाकर्मीहरूसँग दुर्व्यवहार गरेको विभागले जनाएको छ।
अध्यागमन ऐन, २०४९ को दफा ६ अनुसार विदेशीको प्रवेश, उपस्थिति तथा प्रस्थानसम्बन्धी कागजात अध्यागमन अधिकृतले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने व्यवस्था रहेको छ। सोहीअनुसार, अध्यागमन नियमावली, २०५१ ले विदेशीले प्राप्त भिसाको उद्देश्य बाहेक अन्य काम गर्न नपाइने स्पष्ट प्रावधान राखेको छ।
गैरकानूनी रूपमा बसोबास गर्ने विदेशीलाई अध्यागमन महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना र आवधिक वा अनिश्चित कालीन पुनः प्रवेश निषेध गर्दै निष्कासन गर्न सक्ने कानुनी व्यवस्था छ।
अध्यागमन विभागले भिसाको उद्देश्य विपरीत बसेका वा शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकहरूमाथि आवश्यक अनुसन्धानपछि कानुनअनुसार कारबाही अघि बढाइने जनाएको छ।







