काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशभर वामपन्थी पार्टीको एकता प्रक्रिया प्रारम्भ भएको सन्देश प्रवाह गर्न सबै प्रदेशमा सन्देश सभा सञ्चालन गरिने बताएका छन् ।
कोटेश्वरस्थित पार्टी कार्यालयमा आज बसेको पूर्वपदाधिकारीहरूको छलफलपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी मङ्सिर महिनाभित्र सातै प्रदेशमा एकता सभा गरिने जानकारी दिए ।
पार्टीको संगठन सुदृढ बनाउन युवा सहभागितालाई जोड दिँदै नेता खनालले सबै पुस्ताको भावनालाई समेट्न र कम्युनिष्ट एकतालाई पार्टीको प्रमुख ‘एजेन्डा’ बनाइने विचार व्यक्त गरे ।
मुलुकमा सुशासन कायम गरी जनताको आर्थिक प्रगतिका लागि कम्युनिष्ट एकता अपरिहार्य रहेको धारणा राखेका छन् ।
पूर्वप्रधानमन्त्री खनालले नेपाली विशेषताको समाजवादी व्यवस्था कार्यान्वयनका लागि आमजनतालाई संगठित गर्दै समाजवादको बाटोतर्फ लैजानुपर्नेमा जोड दिएका छन्।







