काठमाडौँ । नेपालमा रोकिएको सडक उपभोग दस्तुर संकलन रुपन्देहीबाट पुनः सुरु भएको छ । सडक बोर्ड नेपालले यहाँस्थित भैरहवा-भूमही सडक खण्डमा रहेको संकलन केन्द्रबाट आजदेखि दस्तुर संकलन सुरु गरेको हो ।
यसअघि ठेक्का लगाएर दस्तुर संकलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर संकलन गरिरहेको छ । सडक बोर्ड ऐन, २०५८ को दफा ‘६’ र ‘४’ को अधिनमा रही “सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१” बमोजिम दस्तुर संकलन गरिएको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए ।
उनले अहिले भैरहवा-भूमहि सडक खण्डमा सुरु गरिए पनि अबको केही दिनमै अन्य तीन स्थानबाट पनि दस्तुर संकलन सुरु गरिने बताए । ‘२०८१ जेठ १७ गतेको मन्त्रिपरिषद्कै निर्णयअनुसार टोल ट्याक्स उठाउने निर्णय भएको थियो, टोल ट्याक्स पनि डिजिटाइलज माध्यमबाट उठाउने कुरा हो । सोहीअनुसार भैरहवाबाट यसको सुरुआत गरेका छौँ’, केसीले भने, ‘यो सडक खण्ड छोटो रहेको र भन्सार विन्दु पनि रहेको हुँदा यहीँबाट सुरु गर्ने निर्णयमा पुगेका हौँ ।’
उनले भैरहवा भन्सारबाट निस्केका ओभर लोड गाडीहरूले सडक बिग्रेका कारण त्यसको अनुगमन पनि गर्ने र सो गाडीहरूले बिगारेको बाटो संकलित करबाट मर्मत गरिने बताए ।
उनले भैरहवाबाट सुरु गरेको सडक दस्तुर संकलन अब वीरगञ्ज-पथलैया, धरान विराटनगर र नारायणगढ-मुग्लिङ बाटोमा पनि सुरु गरिने बताए ।
यससँगै नागंढुंगासडक खण्डमा पनि सवारी साधनबाट ‘रिड’ गर्न मिल्ने ‘आरएफआइडी’ प्रविधि जडान गरी दस्तुर संकलन गरिने उनले जानकारी दिए ।
संकलित रकमको कम्तीमा दुई तिहाइ रकम सोही सडक खण्डको मर्मत सम्भारमा उपयोग गरिने केसीको भनाइ छ । दस्तुर संकलनलाई व्यवस्थित गर्न बैंकिङ प्रणाली विद्युतीय माध्यमबाट गरिएको र भुक्तानी नगदको साथै ‘क्युआर कोड’बाट पनि गर्न मिल्ने बनाइएको छ ।
भैरहवा-भूमही सडक खण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टको रु. ३०, कार, जिप, पिकअप भ्यान र र्ट्याक्टरको रु. २० र तिनपाङ्ग्रे तथा मोटरसाइकलको रु. १० सडक उपभोग दस्तुर तोकिएको छ । यो सडक खण्डमा भने तिनपाङ्ग्रे तथा मोटरसाइकलको दस्तुर अहिले संकलन नगरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिएका छन् ।







