काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारीहरू सो अनुरूपको तयारी र प्रतिबद्धताका साथ कार्य जिम्मेवारी निर्धारित गरी परिचालित हुनसमेत निर्देशन गरेका छन् ।
जेन जेड आन्दोलनको भावना र मर्म अनुरूप सेवा प्रदायक निकायहरूले आफ्ना काम कारवाहीलाई छिटो छरितो बनाउने र कार्य प्रक्रियालाई सरलीकृत गर्ने र आफूले प्रवाह गर्ने सबै प्रकारका सेवाहरूलाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउने र अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न मन्त्री अर्यालले बैठकमा निर्देशन दिएका छन् ।
‘सरकारी काम कारबाहीले गर्दा सेवा ग्राहीलाई अनावश्यक झनझट व्यहोर्नु पर्ने अवस्थाको अन्त्य गर्ने गरी कार्य गर्नसमेत सबै मातहतका निकाय तथा अधिकारीहरूलाई निर्देश गर्दछु,’ मन्त्री अर्यालले भने ।
मन्त्री अर्यालले आगामी निर्वाचनको वातावरण बनाउन र भौतिक स्रोतसाधन लागि आवश्यक पर्ने बजेटका कार्यक्रम अर्थ मन्त्रालयबाट यस मन्त्रालयलाई सहजीकरण भएकोमासमेत मन्त्री अर्यालले अर्थ मन्त्रालयलाई धन्यवाद दिए ।
समीक्षा क्रममा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र संघीय मामिला मन्त्रालयले दिनुभएका सुझावहरूलाई मन्त्रालय मनन गरेर कार्यान्वयनमा लैजाने कुरा पनि मन्त्री अर्यालले राखेका छन् ।
राजस्व चुहावट नियन्त्रणमा लिएको प्रयास अपर्याप्त भएको भन्दै, मन्त्री अर्यालले त्यसतर्फ विशेष ध्यान दिन र आगामी चौमासिक प्रगति समीक्षामा देखिने गरी काम गर्न समेत निर्देश गरेका छन् ।
सीमापार अपराध न्यूनीकरण, लागु औषधको दुरुपयोग र ओसारपोसारविरुद्दको कारवाही र सडक दुर्घटना न्यूनीकरणका लागि वर्तमान कार्यशैलीमा आवश्यकता अनुसार पुनरावलोकन गर्न र जनताले अनुभूत गर्ने गरी काम गर्न पनि मन्त्री अर्यालले सम्बद्ध निकायलाई आदेश दिएका छन् ।
‘जेन जेड आन्दोलन र त्यसपछि विकसित घटना क्रमले हाम्रा मन्त्रालयका नियमित काम कारवाहीमा केही बाधा अड्चन परे पनि अब मन्त्रालयको नियमित कामहरूलाई तीव्रता दिएर अघि बढ्नु पर्नेछ,’ मन्त्री अर्यालले भने ।
समीक्षा बैठकमा उठेको विषयलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले भने, ‘मन्त्रालय मातहतका निकायहरूको वार्षिक कार्ययोजना र कार्य प्रगतिको समीक्षा सबै निकायहरूले आन्तरिक रूपमा नियमित गर्ने गरौँ र वार्षिक रूपमा लक्ष निर्धारित क्रियाकलाप र माइलस्टोनहरुको प्रगति लक्ष अनुरूप हाँसिल गर्न के कसो गर्नु पर्छ सो को समीक्षा गरी सोही अनुसार प्रगति हाँसिल गर्ने गरी बाँकी कार्य अगाडि बढाउन निर्देश गर्दछ।’
सबै निकायहरूको पूर्वानिर्धारित् आन्तरिक वार्षिक कार्य योजना र माइलस्टोन कार्यान्वयनलाई तीव्रता दिन र गरिएका कार्यहरूको नियमित आन्तरिक समीक्षासमेत गर्न उनले निर्देशन दिए ।
सेवाग्राहीले एउटै विवरण र सूचना सरकारी निकायलाई पटक पटक दिनु पर्ने बाध्यताको अन्त्य गर्न गरी कार्य गर्न पनि उनले निर्देश गरेका छन् ।
विशेष गरी राष्ट्रिय परिचयपत्रको मर्म र भावनालाई अन्य निकायलाई बुझाई सबै प्रणालीलाई क्रमशः आबद्ध गर्ने गरी सम्बन्ध निकायले प्राथमिकताका साथ यस कार्यलाई अघि बढाउन पनि उनले आदेश गरेका छन् ।
‘नागरिकका गुनासो र उजुरी फर्स्यौटलाई पहिलो प्राथमिकता दिनु होला र सकभर गुनासोरहित ढंगले काम गरौँ र सेवाग्राहीको काम पन्छ्याउने कामलाई निरुत्साहितता गरौँ,’ मन्त्री अर्यालले भने ।
कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले मन्त्रालय यस अन्तर्गतका सबै निकायले सुशासन र पारदर्शीतालाई मूल केन्द्र बिन्दु बनाइ आफ्नो कार्य जिम्मेवारी निर्वाह गर्नु निर्देश गरेका छन् ।
गृह मन्त्रालय सबै मन्त्रालयहरू बन्द अलि बढी सम्म्वेदनशील मन्त्रालय भएकोले नै यस अन्तर्गत रहेका केही महत्त्वपूर्ण विभाग र महाशाखाहरू जस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रवाह गर्ने सेवाबाटै गृह मन्त्रालयको सफलता र मुहार झल्किने कुरा उनले बताएका छन् ।
कार्यक्रममा मन्त्रालयका सहसचिव तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीले मन्त्रालय मातहत रहेका सबै निकायहरूको समग्रमा प्रस्तुतीकरण दिँदै मन्त्रालयको वार्षिक कुल दुई खर्ब ८ अर्ब बजेटमा, चालु आवको पहिलो चौमासिकसम्ममा आइपुग्दा मन्त्रालयले चालु खर्च तर्फ २० दशमलव ९२ प्रतिशत र पुँजीगत तर्फ १० दशमलव ६५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिएका छन् ।







