काठमाडौँ । दुर्गा प्रसाईँ नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान”मा चन्दा असुली गरेको आरोपमा चार जनालाई कारवाही गरिएको छ।
महाअभियानले जारी गरेको विज्ञप्ति अनुसार, कारबाहीमा परेकामा नागरिक बचाउ महाअभियान नेपालका सचिवालय सदस्य तथा युवा खेलकुद विभाग संयोजक विष्णुजंग बस्नेत, केन्द्रीय सदस्य तथा पीडीएफ सह-संयोजक गोपाल बोहोरा समावेश छन्। उनीहरूलाई सबै जिम्मेवारीबाट हटाएर निष्कासन गरिएको छ।
साथै सचिवालय सदस्य ओमप्रकाश लुइँटेल र केन्द्रीय सदस्य तथा मेची अञ्चल सहसंयोजक प्रकाश उप्रेतीलाई पनि सबै जिम्मेवारीबाट हटाएर निलम्बन गरिएको महाअभियानले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ कि कारबाहीमा परेकाहरूले पीडितबाट आर्थिक असुल गर्ने धन्दा चलाएको, संगठनमा गुट बनाएर अराजकता फैलाएको, नागरिकको कागजात जफत गरेर ब्ल्याकमेलिङ गरेको र आर्थिक मोलमोलाइ गरेको बताइएको छ।
विज्ञप्ति महाअभियानका विभाग सचिव प्रेमदीप लिम्बू र विभाग प्रमुख प्रेम थापा मगरले संयुक्त हस्ताक्षर गरी जारी गरेका हुन्।







