काठमाडौँ। चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ ।
आइतबार सिंहदरवारमा बसेको आयोगको बैठकले पोस्ट ग्रेजुएट-पीजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बैठकमा पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थी कुन कलेजलाई कति सिट दिने भन्नेबारे छलफल भएको बताए ।
सरकारी क्याम्पसलाई एक हजार भन्दा बढी र निजीलाई एक हजार भन्दा केही कम दिने गरी विभाजन गरिएको उहाँको भनाइ छ । सरकारको यस निर्णयबारे सबै खुसी रहेको उनले बताए । उनले भने, ‘चिकित्सा शिक्षा आयोगको बैठकमा पोस्ट ग्रेजुएट पढ्ने विद्यार्थीहरूको कुन कलेजलाई कति सिट दिने भन्ने कुरामा छलफल भयो । करिब सरकारी कलेजलाई हजार भन्दा अलि बढी र निजीलाई हजार भन्दा अलिकति कम सिट विभाजन गरिएको छ । माथि बसेर त्यत्रो सिट तोकियो त्यो पनि काम नै हो । सहभागीहरू सबै खुसी छ । सबैलाई सिट संख्या पुग्यो रे । सबै खुसी छ ।’
आइतबार आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिक्षा आयोगको बैठक बसेको हो ।







