काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले आज ‘एसिया-प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन) सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरूलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिएकी छन् ।
साथै उनले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको स्वीकार गरिन्।
“ज्येष्ठ नागरिक रोग विशेषज्ञहरूको पदहरू सिर्जना गर्न आवश्यक छ । नर्सहरूको पनि थप दरबन्दी सिर्जना गर्नुपर्छ । आर्थिक रूपमा कमजोर राष्ट्र भएर पनि हामीले ज्येष्ठ नागरिकका लागि सकेसम्म उत्तम सेवा दिन प्रयास गरिरहेका छौँ,” उनले भनिन् ।
देशमा ३० लाख हाराहारी ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या छ । ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलले जनसङ्ख्याको अनुपातमा विशेषज्ञहरू पर्याप्त नरहेका बताइन् । उनले भनिन्, “हाल नेपालमा १० जना दर्ता गरिएका ज्येष्ठ नागरिक रोग विशेषज्ञहरू छन् जसमा ६ जना मात्र स्वदेशमा छन् ।”
जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा. उमेश बोगटीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई सधैँ सबल राख्न क्षेत्रीय साझेदारी अत्यावश्यक भएको बताइन् ।
सम्मेलनमा नेपालसहित २० भन्दा बढी देशका विभिन्न रोगका विशेषज्ञ चिकित्सक, ज्येष्ठ नागरिक विज्ञ, अनुसन्धानकर्ता तथा विभिन्न विश्वविद्यालयका प्राध्यापक सहभागी छन् ।







